काठमाडौं — मारवाडी व्यापारीलाई धम्की दिएको अभियोगमा पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गे चार घण्टामै रिहा भएको दाबी सार्वजनिक भएको छ।
सोमबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनाङ्गेलाई नियन्त्रणमा लिएको थियो। उनलाई एक मारवाडी व्यापारीको लेनदेन विवादसम्बन्धी मौखिक उजुरीका आधारमा पक्राउ गरिएको बताइएको छ।
तर पक्राउपछि करिब चार घण्टामै मनाङ्गे रिहा गरिएको विषयले विभिन्न प्रश्न उठाएको छ। कार्यालय स्रोतलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा निवर्तमान गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङको फोन तथा दबाबपछि रिहाइ गरिएको दाबी गरिएको छ।
स्रोतका अनुसार उच्च तहबाट “तुरुन्त छाड्नू” भन्ने निर्देशन आएको र मन्त्रीस्तरीय दबाबका कारण प्रहरीलाई नियन्त्रण कायम राख्न कठिन भएको बताइएको छ।
यस घटनापछि प्रहरीले भने औपचारिक रूपमा मनाङ्गे आफैं उपस्थित भएको दाबी गर्दै आएको छ।
यसैबीच, पूर्वगृहमन्त्री सुधन गुरुङ र दीपक मनाङ्गेबीच पुरानै सम्बन्ध रहेको भन्दै विभिन्न कोणबाट चर्चा सुरु भएको छ।




















