काठमाडौँ— मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको जनाएको छ। यसका कारण अहिले देशभर सामान्यदेखि घना बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश र मधेस प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने हिमाली भूभागमा सामान्य बदली रहने र पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्ले चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।