काठमाडौँ— बालेन्द्र शाह (बालेन) नेतृत्वको काठमाडौँ महानगरपालिकाभित्र कर्मचारी समन्वयसम्बन्धी समस्या देखिएको दाबी सार्वजनिक भएको छ। स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयलाई लिएर आन्तरिक विवाद बढ्दै गएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार, मेयर शाहले दिएको निर्देशनअनुसारका कागजातमा केही कर्मचारीले हस्ताक्षर गर्न अस्वीकार गरेपछि उहाँ स्वयंले नै हस्ताक्षर गर्न थालेको बताइएको छ। यसले सचिवालयभित्र ‘टेर्ने प्रवृत्ति’ कमजोर भएको संकेत गरेको दाबी गरिएको छ।

यसअघि महानगरले प्रशासनिक खर्च नबढाउने र करारमा कर्मचारी नियुक्ति नगर्ने नीति लिएको भए पनि पछिल्लो समय स्वकीय सचिवालय विस्तारतर्फ कदम चालिएको भन्दै असन्तुष्टि बढेको स्रोतको भनाइ छ।

यही क्रममा गोरखाका सुजन देवकोटालाई स्वकीय सचिवालयमा अधिकृत पदमा नियुक्त गरिएको पत्रमा मेयर शाहकै हस्ताक्षर रहेको बताइएको छ।

यस घटनाले महानगरभित्र समन्वय अभाव र प्रशासनिक व्यवस्थापनबारे प्रश्न उठाएको छ। यद्यपि, यस विषयमा महानगरको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।