काठमाडौं — सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमप्रति कडा आपत्ति जनाउँदै जेन–जी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहलाई आत्महत्या दुरुत्साहनसम्बन्धी कसूरमा तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

जेन–जी मुभमेन्ट नेपालले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै काठमाडौँका थापाथली, मनोहरा, सिनामंगल, बल्खु लगायतका क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने क्रममा डोजर प्रयोग हुँदा दुई जना व्यक्तिले आत्महत्या गरेको दाबी गरेको छ ।

वक्तव्यमा उक्त घटनालाई सामान्य दुर्घटना नभई प्रधानमन्त्रीको निर्देशनबाट सिर्जित राज्य आतंकको प्रत्यक्ष परिणाम भएको आरोप लगाइएको छ । सोही आधारमा प्रधानमन्त्रीलाई आत्महत्या दुरुत्साहनसम्बन्धी कसूरमा पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको छ ।

सुकुम्बासी बस्ती खाली गराउने सरकारी कदमलाई ‘डोजर आतंक’ को संज्ञा दिँदै मुभमेन्टले कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको छ । साथै, डोजर अभियान तत्काल रोक्न र प्रभावित सबै सुकुम्बासी परिवारलाई सुरक्षित तथा सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

वक्तव्यमा प्रवक्ता विजय शाहले राज्यले गरिबमाथि बल प्रयोग गरेको आरोप लगाउँदै यस्तो कदम युवाहरूले सहन नसक्ने उल्लेख गरेका छन् । उक्त वक्तव्य प्रहरी परिसर काठमाडौँ र जिल्ला अदालतलाई समेत बोधार्थ पठाइएको जनाइएको छ ।

यता, जेन–जी फ्रन्टले पनि छुट्टै वक्तव्य जारी गर्दै भूमिहीन सुकुम्बासीलाई अमानवीय र गैरकानुनी रूपमा हटाइएको भन्दै आपत्ति जनाएको छ । उसले सरकारको कदमले नैतिक तथा राजनीतिक वैधतामाथि प्रश्न उठ्ने दाबी गर्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस विषयमा सरकार वा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।