काठमाडौं—पूर्वमन्त्री तथा भोजपुरबाट तीन पटक निर्वाचित नेता सुदन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । पार्टी एकताको औपचारिक घोषणा आज दिउँसो गरिने तयारी रहेको स्रोतले जनाएको छ ।
सहमति अनुसार किरातीले श्रम संस्कृति पार्टीमा दोस्रो वरीयतासहित उपाध्यक्षको जिम्मेवारी पाउने भएका छन् । साथै, उनको पक्षबाट एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत समावेश हुने सहमति भएको बताइएको छ ।
स्रोतका अनुसार किरातीसँगै आउने अधिकांश नेता तथा कार्यकर्ता प्रलोपाबाट आबद्ध रहेका छन् ।
जेनजी आन्दोलनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसहितका नेतासँग पार्टी एकता गरेपछि असन्तुष्टि जनाउँदै किराती जनार्दन शर्मासहित प्रलोपामा सक्रिय भएका थिए । त्यसपछि उनले प्रलोपाको अध्यक्ष परिषद्को जिम्मेवारीसमेत छाडेर हर्क साम्पाङसँग निरन्तर छलफल गरिरहेका थिए ।


















