काठमाडौँ—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले राज्यका संस्थाहरू सुधारको नाममा क्रमशः व्यक्ति केन्द्रित बनाइँदै गएको भन्दै गम्भीर आपत्ति जनाएकी छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले स्थापित मापदण्ड, संस्थागत प्रक्रिया र मर्यादामाथि हस्तक्षेप भइरहेको बताएकी हुन् । वरिष्ठताको व्याख्या केवल उमेर वा रोलक्रममा सीमित गर्न खोजिएको भन्दै उनले त्यसलाई “गलत भाष्य” को संज्ञा दिएकी छन् ।
ओलीका अनुसार वरिष्ठता भनेको संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णय क्षमता र कार्यसम्पादनजस्ता पक्षहरूको समष्टिगत मूल्यांकन हो । उनले हालै चौथो वरीयताका व्यक्तिलाई प्रधानन्यायाधीश बनाइएको घटनालाई लिएर संस्थागत परम्परा कमजोर पारिएको र भविष्यका नियुक्तिहरूमा गलत नजिर बस्न सक्ने चेतावनी दिएकी छन् ।
उनले विधि र संस्थागत मर्यादा कायम गर्ने दाबी गर्ने सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको टिप्पणी गर्दै राज्य प्रणाली विधिभन्दा व्यक्तिकेन्द्रित दिशातर्फ उन्मुख भएको संकेत गरेकी छन् ।


















