प्यूठान—प्यूठानमा सासूको हत्या आरोपमा सौतेनी बुहारी पक्राउ परेकी छन्। स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मंसिर १ गते छिमेकीको बारीमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार प्रारम्भिक चरणमा प्रतिवादी पहिचान हुन नसके पनि पछिल्लो अनुसन्धानबाट सौतेनी कान्छी बुहारीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो।
जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा प्यारालाइसिसबाट थलिएकी सासूको हेरचाहको झन्झटका कारण घटना भएको आशंका गरिएको छ।




















