काठमाडौँ — संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा अपनाएको प्रक्रियालाई लिएर पूर्वप्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको सम्बन्धमा गम्भीर दरार उत्पन्न भएको छ। कुनै समय बालेनलाई पुत्रवत् स्नेह दिने कार्की अहिले उनीसँग निकै चिढिएकी छन्।
विवादको मुख्य कारण
सर्वोच्च अदालतको वरिष्ठता क्रममा पहिलो नम्बरमा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाएर चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएपछि कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाएकी हुन्। विधि र पद्धतिको मिचिएको भन्दै उनले सरकार र संवैधानिक परिषद्को निर्णयप्रति आपत्ति प्रकट गरेकी छन्।
पत्रकारसँगको तीखो संवाद
यसै सन्दर्भमा, हालै एक कार्यक्रममा युट्युबर दिवाकर साहले कार्कीलाई 'आमा' भन्दै सम्बोधन गर्दा उनले कडा प्रतिक्रिया दिएकी छन्। साहले "आमा दर्शन" भन्दै प्रश्न सोध्न खोज्दा कार्कीले आक्रोशित हुँदै भनिन्:
"को हो आमा भन्ने? तिमीहरूको आमा फेरिइसक्यो। म मेरो बच्चाको मात्र आमा हो।"
पत्रकार साहले "तपाईं त देशकै आमा हो" भनी फकाउन खोज्दा कार्कीले प्रधानमन्त्री बालेनप्रति लक्षित गर्दै जवाफ फर्काइन्— "मलाई होइन, अब बालेनकी श्रीमतीलाई आमा भन्नू।"
यो घटनाले बालेन शाह र सुशीला कार्कीबीचको व्यक्तिगत तथा वैचारिक सम्बन्धमा आएको कटुतालाई छर्लङ्ग पारेको छ। न्यायालयको नेतृत्व चयनमा राजनीतिक स्वार्थ हाबी भएको भन्दै न्यायिक वृत्तमा समेत यसको आलोचना भइरहेको छ।


















