काठमाडौं — केपी शर्मा ओलीको निवास गुन्डूमा आइतबार खिचिएको एउटा तस्बिरले एमाले वृत्तमा नयाँ राजनीतिक चर्चा जन्माएको छ। एमाले नेता अब्दुस मियाँले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उक्त तस्बिरमा अध्यक्ष ओली बस्ने आसनमा स्वयं मियाँ बसेका देखिन्छन् भने ओली छेउको कुर्सीमा छन्।
मियाँले उक्त आसन परिवर्तन अध्यक्ष ओलीकै आग्रहमा भएको बताएका छन्। उनका अनुसार लामो समयपछि भएको भेटका क्रममा फोटो खिचाउने बेला ओलीले “बाबु, त्यो कुर्सीमा बस” भन्दै आफ्नै आसनमा बस्न आग्रह गरेका थिए।
मियाँले यसलाई ठूलो राजनीतिक संकेतभन्दा पनि “युवाले पनि नेतृत्वको स्थान लिन सक्छन्” भन्ने सामान्य सन्देशका रूपमा आफूले बुझेको बताए। तर एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला आएको यो दृश्यलाई धेरैले अर्थपूर्ण रूपमा हेरिरहेका छन्।
पछिल्लो समय एमालेभित्र अध्यक्ष ओलीको विकल्पबारे खुलेर छलफल हुन थालेको छ। ओली निकटकै नेताहरूले सचिवालय बैठक बोलाउनुपर्ने आवाज उठाइरहेका छन्। यही पृष्ठभूमिमा सार्वजनिक भएको तस्बिरले पार्टीभित्र थप जिज्ञासा र टिप्पणी जन्माएको हो।
केपी शर्मा ओली केही समययता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट केही टाढा छन्। जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा पक्राउ परेका ओली चैत २६ गते हाजिरी जमानीमा रिहा भएका थिए। त्यसपछि पित्तथैलीमा पत्थरी र हर्नियाको शल्यक्रिया गराएका उनी वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।
स्वास्थ्य अवस्थाका कारण एमालेका नियमित गतिविधि प्रभावित भइरहेका बेला ओलीले आइतबारदेखि भेटघाटलाई तीव्रता दिएका छन्। मियाँका अनुसार आइतबार मात्रै उपाध्यक्ष विष्णु पौडेलसहित केही प्रदेश अध्यक्ष र नेताहरूले ओलीसँग भेट गरेका थिए।
उपाध्यक्ष पौडेलले भने भेटमा स्वास्थ्य अवस्थाबाहेक अन्य राजनीतिक विषयमा कुराकानी नभएको बताएका छन्। उनका अनुसार बैठक वा पार्टी रणनीतिबारे कुनै छलफल भएको थिएन।
यसबीच पुष्पकमल दाहालले वाम शक्तिहरूबीच पुनः एकताको आवश्यकता औंल्याउन थालेपछि एमालेभित्र अर्को चर्चा पनि सुरु भएको छ। लोकतन्त्र र संविधानमाथि खतरा बढेको भन्दै प्रचण्डले विचार मिल्ने शक्तिहरूबीच सहकार्य र एकतामा जोड दिँदै आएका छन्।
यही सन्दर्भमा एमालेभित्रका केही नेताहरूले ओली र प्रचण्डबीच पुनः ‘छापामार शैली’ मा राजनीतिक समझदारी बन्न सक्ने आशंका समेत व्यक्त गर्न थालेका छन्।
सेतोपाटी


















