काठमाडौं— होर्मुज जलडमरूमध्यमा गुजरातको काठे जहाज ‘अल फैज नूर–ए–सुलेमानी–१’ माथि भएको कथित आक्रमणमा एक भारतीय नाविकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
जहाजका मालिकका अनुसार दुबई बन्दरगाहबाट यमनको अल मकाला बन्दरगाहतर्फ जाँदै गरेको जहाज होर्मुज क्षेत्रमा पुगेपछि आक्रमणमा परेको थियो। केही मिनेटमै जहाज डुब्न थालेपछि त्यसमा सवार १८ जना चालक दलका सदस्य समुद्रमा हाम फाल्न बाध्य भएका थिए।
मालिक सुलेमानभाइका अनुसार आक्रमणका क्रममा पाँच जना गम्भीर घाइते भएका थिए। तीमध्ये ४२ वर्षीय अल्ताफ केरको उद्धारमा ढिलाइ हुँदा मृत्यु भएको हो। परिवारले उनको शव दुबईमै अन्त्येष्टि गर्ने निर्णय गरेको बताइएको छ।
जहाजका कप्तान अमीन सुम्भानिया र अन्य नाविकहरूले जहाजमा रहेको एक हजार लिटर क्षमताको प्लास्टिक ट्याङ्की समातेर समुद्रमा ज्यान जोगाएका थिए। उनीहरूले करिब १० घण्टासम्म समुद्रमा मृत्युसँग संघर्ष गरेको जनाइएको छ।
सुलेमानभाइले जहाज सामान्य दुर्घटनाले नभई शक्तिशाली हतियारको आक्रमणपछि डुबेको दाबी गरेका छन्। उनका अनुसार सामान्य अवस्थामा आगलागी वा प्वाल पर्दा जहाज लामो समयसम्म तैरिन सक्छ, तर यो जहाज केही मिनेटमै डुबेको थियो।
घटनापछि भारतीय जलयान सङ्घमार्फत नजिकै रहेको ‘प्रेमसागर’ नामक जहाजलाई उद्धारका लागि पठाइएको थियो। तर उद्धार टोली पुग्दासम्म अल्ताफको मृत्यु भइसकेको थियो।
गुजरातबाट खाडी मुलुक तथा अफ्रिकाका तटीय क्षेत्रमा सामान ढुवानी गर्ने यस्ता काठे जहाजहरूको इतिहास सयौँ वर्ष पुरानो मानिन्छ। द्वारका, पोरबन्दर, मुन्द्रा र माण्डवीजस्ता बन्दरगाहबाट सञ्चालन हुने यी जहाजहरूले अहिले पनि परम्परागत समुद्री व्यापार धानेका छन्।
पछिल्लो समय फारसी खाडी क्षेत्रमा बढ्दो तनावका कारण समुद्री मार्ग झन् जोखिमपूर्ण बन्दै गएको छ।




















