विराटनगर — विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटल मा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक भएको छ।
विष सेवनपछि गम्भीर अवस्थामा रहेकी त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारलाई जेठ १ गते अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको परिवारले जनाएको छ।
आफन्तका अनुसार उपचारका क्रममा मृतक महिलाको दुवै कानमा सुनका मुन्द्रा थिए। तर मृत्यु भएपछि कानमा रहेको करिब एक तोला सुनको मुन्द्रा गायब भएको भेटिएको हो। सुरुमा अस्पताल प्रशासनले सुन हराएको स्वीकार नगरे पनि आफन्तले उपचारकै क्रममा खिचिएको भिडियो देखाएपछि घटना स्वीकार गरेको बताइएको छ।
मोरङ प्रहरी प्रमुख कवित कटवाल का अनुसार घटनाबारे सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी पुगेपछि अस्पताल प्रशासनले हराएको सुनको क्षतिपूर्ति दिने सहमति जनाएको छ। अस्पतालले आन्तरिक छानबिन गर्ने भन्दै मृतक परिवारलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको जनाएको छ।




















