काठमाडौं—नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको छ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान सँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको निष्कर्ष निकालेको हो।
बारका महासचिव केदार कोइराला का अनुसार नेपाल बार परिसरमा कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गर्दै न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा आवाज उठाउनेछन्।
बारले सर्वोच्च अदालतमा दायर गरिएका रिट निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरेर फर्काएको भन्दै यसलाई न्याय प्राप्तिको मार्गमा अवरोध भएको ठहर गरेको छ।
संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ र ८ अनुसार कामु प्रधानन्यायाधीशबाट दरपीठ उपरका निवेदन दर्ता गर्न आदेश भए पनि प्रशासनले त्यसको पालना नगरेको बारको भनाइ छ।
यही विषयमा प्रतिनिधिसभामा केही सांसदहरूले गरेको टिप्पणीप्रति पनि बारले गम्भीर ध्यानाकर्षण जनाएको छ। बारले जारी गरेको निर्णयमा जेठ ५ गते दिउँसो १:१५ बजे नेपाल बार परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ।
बारले दरपीठसम्बन्धी निवेदन विनाकारण दर्ता नगर्नु प्रशासनको अधिकार क्षेत्र बाहिरको कार्य भएको र यसले न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको जनाएको छ। साथै, कामु प्रधानन्यायाधीशको आदेशसमेत कार्यान्वयन नगर्नु ‘असाधारण र अप्राकृतिक’ व्यवहार भएको टिप्पणी गरिएको छ।
बारले अदालतमा विचाराधीन विषयमाथि संसदमा छलफल गर्न नपाइने संविधानको धारा १०५ को प्रावधानलाई समेत बेवास्ता गरिएको उल्लेख गरेको छ।
साथै, आवेग र दम्भबाट प्रेरित अभिव्यक्तिहरू अन्ततः पश्चातापमा टुंगिने भन्दै बारले त्यस्ता टिप्पणी संसदीय अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्याल को ध्यानाकर्षण गराएको छ।
बारले आफ्ना सल्लाहकार तथा एकाइबाट प्राप्त सुझावका आधारमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने पनि जनाएको छ।




















