काठमाडौँ— सभामुख  डोलप्रसाद अर्यालले प्रतिपक्षी दलले संसद्‌मा गरिरहेको विरोधलाई जनताले नजिकबाट हेरिरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउनुपर्ने माग राख्दै विरोध गरेपछि सभामुखले प्रधानमन्त्रीको अनुपस्थिति विधि, विधान र नियमावलीविपरीत नभएकाले संसद् अवरोध गर्नुको कुनै औचित्य नभएको उल्लेख गरे।

आकस्मिक, शून्य र विशेष समय सकिएर बैठक कार्यसूचीमा प्रवेश गर्ने वेला प्रतिपक्षी सांसदहरूले अवरोध गरेका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले 'पर्यटन विधेयक २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा विपक्षीहरूले बेल घेराउ गर्दै अवरोध सिर्जना गरे।

विपक्षी सांसदहरू उभिएर नाराबाजी गर्न थालेपछि सभामुखले मन्त्रीलाई रोक्दै विपक्षी दललाई आसन ग्रहण गर्न आग्रह गरे। उनले भने, ‘आज माननीय सदस्यहरूले समय माग्नुभयो। मैले समयको सीमा नतोकीकन बोल्ने अवसर दिएँ। यहाँहरूले मज्जाले आफ्नो कुरा राख्नुभयो। यहाँहरूको कुरामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ र मैले यो कुरा सरकारलाई पनि सुनाइसकेको छु। अब केका लागि विरोध गरिरहनुभएको छ?’

सभामुखको आग्रहका बावजुद प्रतिपक्ष टसमस नभएपछि उनले मन्त्रीलाई रोस्टमबाट फिर्ता बोलाए। सत्तापक्षका मुख्य सचेतक, सरकारका मन्त्री र प्रधानमन्त्री स्वयं यसबारे जानकार रहेको बताउँदै सभामुखले प्रक्रियागत कुरामा सदन अवरुद्ध गर्नुको कुनै औचित्य नभएको प्रस्ट पारे।