रौतहट, २३ कार्तिक । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित सरकारी वकिल तथा कानुन व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

उनीहरूले घटनासँग सम्बन्धित सबुद प्रमाण र साक्षीहरूको रक्षाका लागि आलमलाई थुनामुक्त नगर्न इजलास समक्ष आग्रह गरे ।

पूर्व महान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले तत्काल प्राप्त प्रमाणहरू प्रतिवादी आलमविरुद्ध रहेकाले मुद्दा पुर्पक्षका सिलसिलामा थुनामै राख्न अनुरोध गरे ।

‘प्रमाण बुझ्दै जाँदा निर्दोष ठहरिए सफाइ पाउँछन्, दोषी देखिए सजाय पाउँछन्’, उनले भने, ‘अहिले नै विस्तृत अध्ययन गर्ने विषय होइन, साक्षी प्रमाणको रक्षा गर्न पनि थुनामा राख्नुपर्छ ।’ गोरखापत्र दैनिकबाट