काठमाडौं — गएरातिदेखि देशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रका कारण मौसम प्रभावित भएको हो ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोसी, मधेस र वाग्मती प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यस्तै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत जोखिम रहेको छ । हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार केही दिनदेखि अत्यधिक गर्मी भइरहेका क्षेत्रमा अब तापक्रम घट्ने र मौसम शीतल हुने सम्भावना छ । उनका अनुसार सोमबारसम्म मौसम प्रणालीको प्रभाव रहनेछ ।
मौसमविद् विनोद पोखरेलले केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । उनका अनुसार बिहान केही स्थानमा पानी कम भए पनि राति पुनः वर्षा सक्रिय हुन सक्छ ।
मौसमविद्ले नदी तटीय क्षेत्र, पहिरो जोखिम भएका स्थान तथा हावाहुरी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।




















