काठमाडौं—प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यवहारमै कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

उनले राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति संविधानले गरेको बताएका छन् ।

प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा अन्त्य गर्न कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए ।उनले लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्यका लागि राज्य, समुदाय र सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् ।