काठमाडौं — शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर उठेको विवादबारे स्पष्ट पार्दै प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको दाबी नगरेको बताएका छन्।

मन्त्री पोखरेलले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको बचाउ गर्दै भने, “प्रधानमन्त्री ज्यूले पनि के भन्नुभएको हो भन्नाले— हामीले सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने कुरा आउँदा प्रधानमन्त्री ज्यूले ‘म अचम्मित परेको छु’ भनेर भन्नुभएको हो। प्रधानमन्त्री ज्यू पनि अलिकति अचम्ममा पर्नुभएको हो।”

उनले यस विषयमा परराष्ट्र मन्त्रालयले समेत स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि संयन्त्रहरू सक्रिय रहेको बताए।

“दुवै देशबीच संयन्त्रहरू बनिसकेका छन्। त्यसमा कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, र नेपालले कति उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री ज्यूको हो,” मन्त्री पोखरेलले भने।

पत्रकारहरूले “सरकारसँग नेपालले भारतको सीमा मिचेको प्रमाण छ ?” भन्ने प्रश्न गरेपछि मन्त्री पोखरेलले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा व्याख्या गरिएको दाबी गरे।

उनले भने, “त्यो प्रधानमन्त्री ज्यूले त्यस्तो भन्नुभएको नै छैन। प्रधानमन्त्री ज्यूले ‘यस्तो कुरा आयो, म अचम्ममा परेँ’ भनेर भन्नुभएको हुनाले, प्रधानमन्त्री ज्यूले भन्नुभएको कुरा एकचोटि रिक्याप गरेर सुन्नुहोला।”