काठमाडौं — कृत्रिम कम्पनी स्थापना गरी बैंकबाट कर्जा लिएर दुरुपयोग गरेको आरोपमा ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पाण्डेलाई पक्राउ गरेको हो। उक्त मेडिकल कलेज रामजानकी हेल्थ फाउन्डेसन अन्तर्गत सञ्चालन हुँदै आएको छ।

सीआईबीका अनुसार पाण्डेले ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक कृत्रिम कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै बैंकबाट कर्जा लिएका थिए। कर्जा प्राप्त गर्न धितोको मूल्यसमेत अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गराइएको आरोप उनीमाथि छ।

काठमाडौं–९ रातोपुल निवासी पाण्डे उक्त कम्पनीका एकल सञ्चालक रहेको ब्युरोले जनाएको छ। उनले बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र खर्च गरी कर्जा दुरुपयोग गरेको आरोप अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार पाण्डेविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते नै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएपछि उनी पक्राउ परेका हुन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।