काठमाडौं—प्रेममा परेपछि मानिस आफ्नो प्रेमी वा प्रेमिकाको खुसीको लागि जस्तोसुकै हद पनि पार गर्न तयार हुन्छ। तर, त्यही त्याग र विश्वासको बदलामा धोका मात्र पाइयो भने अवस्था कस्तो होला? भारतमा अहिले प्रेम र स्वार्थको यस्तै एउटा चकित पार्ने घटना सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
एक युवकले आफ्नी प्रेमिकालाई खुसी पार्न उनको जन्मदिनमा नेपाली रुपैयाँ करिब ५ लाख पर्ने महँगो कम्प्युटर उपहार दिएका थिए। तर, युवकको होस त्यतिबेला उड्यो जब उपहार पाएको भोलिपल्टै ती प्रेमिकाले उनलाई सबैतिरबाट ब्लक गरिन् र सम्पर्कविहीन भइन्।
सामाजिक सञ्जाल 'रेडिट' र विभिन्न भारतीय फोरमहरूमार्फत बाहिरिएको यस घटनाका अनुसार, ती युवकले प्रेमिकाको 'फ्रीलान्सिङ' र भिडियो सम्पादनको काममा सहज होस् भनेर महिनौंसम्म पैसा जम्मा गरी उक्त 'कस्टम-बिल्ट हाइ-इन्ड' कम्प्युटर किनेका थिए। जन्मदिनको दिन उनले उक्त महँगो उपहार हस्तान्तरण गरेका थिए। प्रेमिकाले पनि अत्यन्तै खुसी हुँदै उपहार स्वीकार गरेकी थिइन्।
तर, घटनाले अर्को दिन बिहानै नयाँ मोड लियो। जब युवकले प्रेमिकालाई फोन गरे, उनको नम्बर ब्लक गरिएको थियो। ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक लगायतका सबै सामाजिक सञ्जालबाट पनि उनलाई अनफ्रेन्ड र ब्लक गरिएको थियो। सुरुमा युवकले फोन हराएको वा प्राविधिक गडबडी होला भन्ने सोचेका थिए। तर, प्रेमिकाका साथीहरूमार्फत बुझ्दा उनले जानीजानी सम्पर्क तोडेको र कम्प्युटर हात परेपछि सम्बन्ध अन्त्य गर्ने योजना पहिल्यै बनाएको रहस्य खुल्यो।
आफू नराम्ररी ठगिएको र भावनात्मक रूपमा प्रयोग भएको महसुस गर्दै ती युवक अहिले आफ्नो महँगो उपहार फिर्ता पाउन वा क्षतिपूर्तिका लागि कानुनी बाटो खोज्दै वकिलको ढोकामा पुगेका छन्। उनले वकिलसँग अनलाइन प्लेटफर्ममै 'के आफूले दिएको उपहार कानुनी रूपमा फिर्ता माग्न मिल्छ?' भन्दै सल्लाह मागिरहेका छन्।
कानुनविद्हरूका अनुसार, सामान्यतया कसैलाई स्वेच्छाले दिइएको 'उपहार' कानुनी रूपमा फिर्ता लिन निकै गाह्रो हुन्छ। तर, यदि यो योजनाबद्ध ठगी वा भावनात्मक रूपमा झुक्याएर लिइएको प्रमाणित गर्न सकेमा उजुरी दर्ता हुन सक्ने झिनो सम्भावना रहन्छ। युवकसँग कम्प्युटर किनेको सक्कल बिल र प्रेमिकाले उक्त कम्प्युटर मागेको च्याटको 'स्क्रिनसट' भने सुरक्षित रहेको बताइएको छ।


