काठमाडौं । नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक ओरालो यात्रालाई लिएर पार्टीभित्र र बाहिर नयाँ ढंगले समीक्षा हुन थालेको छ। विगतका आन्तरिक संकट र कमजोरीहरूमा केवल मुख्य नेतृत्वलाई मात्र दोष दिएर उम्किने ठाउँ नरहेको टिप्पणी राजनीतिक वृत्तमा बलियो बन्दै गएको हो। एमालेको यो उतारचढावपूर्ण प्रक्रियामा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु प्रसाद पौडेल पनि मुख्य जिम्मेवार पात्रका रूपमा रहेको चर्चा चल्न थालेको छ।
विगतका राजनीतिक र सांगठनिक कमजोरीहरूको निष्पक्ष समीक्षा गर्दै पार्टीलाई पुनर्गठन, रूपान्तरण र नयाँ ऊर्जासहित अगाडि बढाउने जिम्मेवारी अब पुरानै सोच र नेतृत्व समूहमा मात्र सीमित रहनु उपयुक्त नहुने विश्लेषकहरूको मत छ।
यस्तो जटिल अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वले पार्टीभित्र नयाँ बहस, नयाँ विश्वास र नयाँ दिशा प्रदान गर्न सक्ने सम्भावना औंल्याइएको छ। एमालेलाई नवीन सोच, व्यापक एकता र जनअपेक्षाअनुकूल रूपान्तरणको मार्गमा अघि बढाउन उहाँको नेतृत्व एक उपयुक्त र सशक्त विकल्प हुन सक्छ भन्ने धारणा एमाले पंक्तिमा बलियो बन्दै गएको देखिन्छ।




















