विराटनगर—जेन्जी अभियान्ता माजिद अन्सारीसहित तीन युवालाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शन गर्न पुगेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कीर्तिपुरस्थित सुकुम्बासी राखिएको होल्डिङ सेन्टरबाट जेन्जी अभियान्तालाई पक्राउ गरिएको घटनाको विरोध गर्दै शनिबार राति करिब साढे ९ बजे जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेटअगाडि धर्ना बस्न पुगेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार प्रदर्शनकारीलाई पटकपटक सम्झाइबुझाइ गर्दा पनि उनीहरूले अटेर गरेका, प्रहरीको कामकारबाहीमा अवरोध पुर्याएको तथा सवारी आवागमन नै प्रभावित पारेपछि २६ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले नियन्त्रणमा लिइएका सबैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि शुक्रबार रातिको वर्षाले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई सहयोग गर्न पुगेका तीन जना जेन्जी युवालाई प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा भएको कुटपिटबाट जेन्जी अभियान्ता माजिद अन्सारी घाइते भएको बताइएको छ।






















