काठमाण्डौ—नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता हिमाल शर्माले जनआस्था मिडिया र सम्पादक किशोर श्रेष्ठका कारण माओवादी सशस्त्र द्धन्द्धका बेला आफ्नो ज्यान जोगिएको एउटा सन्दर्भ स्मरण गरेका छन् । 

श्रेष्ठको गिरुफ्तारीविरुद्ध विभिन्न संघ संगठन तथा शुभचिन्तकहरू आन्दोलित भैरहेका बेला शर्माले सैनिक हिरासतको प्रसंगसहित ऐक्यवद्धता जनाएका हुन् । ०६० सालमा नेपाली सेनाको भैरवनाथ गणभित्र आफूहरूलाई बेपत्ता अवस्थामा राखेको समाचार जनआस्था पत्रिकाले बाहिर ल्याएको र त्यसैका कारण तत्कालीन सरकार चाहेर पनि मार्न नसकेको उनको भनाइ छ । 

'किशोर श्रेष्ठले द्वन्दकालमा ०६० सालतिर भैरवनाथ गणभित्र बेपत्ता अवस्थामा रहेका हामीहरूको अवस्थालाई उनको जनआस्था पत्रिकामार्फत त्यहाँभित्रका भयावह स्थिति र फोटोसमेत छापेर उजागर गर्ने एउटा निडर पत्रकार हुन्', शर्माले फेसबुकमा लेखेका छन्, 'जसको कारणले त्योबेलाको सत्ताले चाहेर पनि हामीलाई मार्न सकेन भन्ने कुरा पछि आएर पुष्टि हुन्छ।'

यो सन्दर्भ उठाउँदै उनले श्रेष्ठलाई सत्ताभित्रका सूचनाभित्र छिर्ने र साहस बटुलेर लेख्ने निडर पत्रकारको संज्ञा दिएका छन् । तथापि व्यक्तिका रूपमा कमजोरी पनि हुनसक्ने भएकाले कानुनअनुसार नै राज्यले व्यवहार गर्नुपर्ने उनको धारणा छ । 

‘मान्छे हुन् उनीमा पनि होलान् कतिपय कमजोरीहरु ! नितान्त व्यक्तिगत मानहानी हुने गरेर लेखेको भए कानुनबमोजिम सहलान् । त्यो उनको कुरा हो', शर्मा भन्छन्, 'सारमा उनी सत्ताभित्रका अनेकौँ तथ्य र सूचनाभित्र छिर्ने र साहस बटुलेर लेख्ने एउटा निडर पत्रकार भने पक्कै हुन् । किशोर श्रेठलाई अविलम्व रिहा गर ।'