झापा — जनआन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ आइतबारे घर भई हाल दमक नगरपालिका–१ रातोपुलस्थित एक मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्।
प्रहरीले शनिबार दमक नगरपालिका–४ स्थित त्रिवेणी चोकको खयरबारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा उक्त सटगन बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको जनआन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन सुमन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गरिएको थियो।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कर्णलाई नियन्त्रणमा लिएर उनको साथबाट प्रहरीको कम्बलमा पोको पारेर लुकाइएको अवस्थामा सटगन फेला पारेको हो।
बरामद गरिएको १२११११४ नम्बरको सटगनको ब्यारेल दुई टुक्रा भएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। हतियार रीतपूर्वक बरामद गरी कर्णलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















