काठमाडौँ—बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिकाका स्थानीय विद्यार्थी प्रदीप खड्का रहेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका–१ बाट तीन दिनअघि हराएकी गरिमा भदौ २ गते मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान तीव्र पारिएको र अहिलेसम्म प्रदीप खड्कासहित कुल नौ जनालाई सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्। घटनामा उनीहरूको भूमिकाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















