रामेछाप — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार कार्कीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै नक्कली बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। प्रहरीको दाबीअनुसार उक्त स्टेटमेन्ट कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण ChatGPT को प्रयोग गरेर तयार गरिएको थियो र त्यसमा कार्कीको व्यक्तिगत क्यूआर कोडसमेत राखिएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त सामग्रीका आधारमा अनुसन्धान अघि बढाएर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

प्रहरीले प्राकृतिक विपद्का नाममा आर्थिक सहयोग गर्दा सम्बन्धित सरकारी निकायका आधिकारिक खातामा मात्र रकम पठाउन र सामाजिक सञ्जालमा फैलाइने अपुष्ट वा नक्कली विवरणप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।