धादिङ—धादिङबाट निर्वाचित रास्वपाकी सांसद आशिका तामाङका पछिल्ला सार्वजनिक गतिविधि र अभिव्यक्तिप्रति नेपाल तरुण दल धादिङले गम्भीर ध्यानाकर्षण जनाएको छ।
तरुण दल धादिङका अध्यक्ष शंकर धमलाले विज्ञप्ति जारी गर्दै विशेषगरी रसुवा बाढीबाट प्रभावित नागरिक पीडामा रहेका बेला प्रभावित क्षेत्रमा पुगेर स्थानीय जनप्रतिनिधिसँग सांसद तामाङले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
विपद्को समयमा जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवी संस्थाबीच सहकार्य र समन्वय आवश्यक हुने भन्दै धमलाले यस्तो संवेदनशील अवस्थामा अनावश्यक विवाद वा कसैलाई अपमानित गर्ने गतिविधि स्वीकार्य नहुने बताएका छन्।
उनले साँच्चिकै सहयोग गर्ने उद्देश्य भए प्रभावित क्षेत्रमा पुगेर राहत, उद्धार, श्रम तथा पुनःस्थापनामा हातेमालो गर्न सांसद तामाङलाई आग्रह गरेका छन्। विपद्लाई व्यक्तिगत प्रचार वा ‘स्टन्ट’को विषय नबनाउनसमेत उनको आग्रह छ।
‘जनताको दुःखमा राजनीति होइन, मानवीयता, जिम्मेवारी र सहकार्य देखिनुपर्छ,’ धमलाले भनेका छन्।
केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा गल्छी गाउँपालिकाको कार्यालयमा सांसद तामाङ र स्थानीय वडाध्यक्षबीच राहतको विषयलाई लिएर विवाद भएको थियो। सोही घटनाप्रति तरुण दलले आपत्ति जनाएको हो।


