रसुवा—बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा आठौँ दिनसम्म पनि सफलता हात परेको छैन।

नेपाली सेनाका अनुसार रसुवागढी हाइड्रोपावरको सुरुङमा जीवित व्यक्ति भेटिने सम्भावना न्यून रहेको प्राविधिक निष्कर्षपछि खोजी स्थगित गरिएको छ। लाङटाङको सुरुङमा उद्धार टोली ६४ मिटरसम्म पुगे पनि त्यसपछि सुरुङ लेदोले पूर्णरूपमा पुरिएकाले अघि बढ्न सकेन।

यता चिलिमे र अपर त्रिशूली–१ मा भने उद्धार प्रयास जारी छ। चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी उद्धारकर्मीसहित २६ जनाको टोली करिब १५० मिटरसम्म पुगेको सेनाले जनाएको छ।

अपर त्रिशूली–१ मा यसअघि पाँच पटक प्रयास असफल भए पनि अवस्था केही सहज भएपछि आजदेखि पुनः उद्धार टोली सुरुङभित्र प्रवेश गरेको छ।

त्यस्तै, त्रिशूली–३ ‘ए’ र ‘बी’ आयोजनामा पनि उद्धार तथा पहुँचमार्ग निर्माणको काम जारी रहेको सेनाले जनाएको छ।

सुरुङभित्र थुप्रिएको लेदो, गेग्रान, पानी र क्षतिग्रस्त संरचनाका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण बनेको छ। समय बित्दै जाँदा उद्धार टोलीसामु चुनौती थपिँदै गएको छ।