काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीका सांसद श्रीराम न्यौपाने र सागर ढकाललाई उद्धार कार्यमा अवरोध भएको भए तत्काल फर्किन निर्देशन दिएका छन्।
त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका क्रममा रास्वपाका सांसदहरूको उपस्थितिले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले श्रीराम न्यौपाने टनेलसम्बन्धी इन्जिनियर र सागर ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले उनीहरू फिल्डमा समन्वयकारी भूमिकामा खटिएको पार्टीको बुझाइ रहेको बताए।
तर, उनीहरूकै उपस्थितिका कारण उद्धार कार्यमा कुनै अवरोध सिर्जना भएको पुष्टि भए तत्काल फिर्ता बोलाइने निर्णय पार्टीले यसअघि नै सभापति रवि लामिछानेसहितको बैठकबाट गरिसकेको उनले स्पष्ट पारे।
पराजुलीले भने, “यदि उहाँहरूका कारण उद्धारमा अप्ठ्यारो भएको रहेछ भने आफ्नो जिम्मेवारीमा फर्किन र उद्धारकर्मीलाई सहज रूपमा काम गर्न दिन यहीँबाट निर्देशन दिएको छु।”


