काठमाडौं — नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका छन्।

शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आचार्यले एकातिर नदीपारिका नागरिक राहत नपाएर भोकै बस्नुपरेको, तर अर्कोतर्फ राहत सामग्री थन्किएर कुहिन थालेको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीको आलोचना गरेका छन्।

आचार्यले सरकारको ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा लागू भएको हो कि स्थानीय र प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनामाथि थोपरिएको हो भन्ने प्रश्नसमेत गरेका छन्।

नेपाली सेनाको मुख्य जिम्मेवारी विपद्का बेला उद्धार गरेर ज्यान बचाउनु रहेको उल्लेख गर्दै उनले राहत वितरणका लागि स्थानीय तह, प्रदेश सरकार र नागरिकको समन्वयमा छुट्टै टोली परिचालन गर्न सकिने बताएका छन्।

सबै निकायलाई स्पष्ट जिम्मेवारी नदिई व्यवस्थित प्रणाली नबनाइए यस्ता समस्या हरेक विपद्मा दोहोरिने आचार्यको भनाइ छ।