काठमाडौं — भोटेकोशी बाढीमा श्रीमान्‌ बेपत्ता भएपछि काखमा बच्चा च्यापेर सरकारसँग खोजी गरिदिन आग्रह गरेकी एक महिलामाथि सामाजिक सञ्जालमा भएका अशोभनीय र घृणास्पद टिप्पणीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आपत्ति जनाएका छन्।

महिलाले श्रीमान्‌को उद्धारको माग गर्दै सार्वजनिक गरेको भिडियोमा चरित्रहत्या गर्ने, व्यङ्ग्य गर्ने तथा अपमानजनक टिप्पणीहरूको बाढी आएपछि रास्वपाका सांसदहरूले त्यस्ता क्रियाकलापप्रति दुःख व्यक्त गरेका हुन्।

रास्वपाकी सहमहामन्त्री तथा सांसद निशा डाँगीले पीडित महिलाले कुनै तमासा नभई आफ्नो पीडा र असहायपन व्यक्त गरिरहेको बताएकी छन्। उनले कसैको जीवन उजाडिएको बेला घृणा र अपमान फैलाउनु मानवताविपरीत भएको उल्लेख गरेकी छन्।

त्यसैगरी, सांसद रञ्जु दर्शनाले पनि प्रियजन हराउँदा मानिस आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै पीडितमाथि खिसिट्युरी र अशोभनीय टिप्पणी गर्नु अमानवीय व्यवहार भएको प्रतिक्रिया दिएकी छन्।

त्यस्तै, सांसद गणेश कार्कीले विपत्तिमा परेका व्यक्तिको आक्रोश स्वाभाविक हुने उल्लेख गर्दै पीडितलाई गाली गरेर न मानवताको, न देशको र न कुनै राजनीतिक दलको पक्षमा उभिन सकिने बताएका छन्।

रास्वपाका सांसदहरूले विपद्‌को समयमा पीडितमाथि घृणा फैलाउने होइन, उनीहरूको पीडालाई सम्मान गर्दै साथ दिनुपर्ने बताएका छन्।