इराक, २१ पुस । इराकको संसदले सबै विदेशी सैन्यबललाई देश छाडेर जाने प्रस्ताव पारित गरेको छ। इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले इराकको राजधानी बगदादमा हत्या गरिदिएपछि आइतबार इराक संसदले यो प्रस्ताव पास गरेको हो।
इराकमा हाल पाँच हजार अमेरिकी सैनिक छन्। इराकी संसदले आफ्नो सरकारसँग विदेशी सैन्यबललाई इराकको भूमि, हवाइ र जलक्षेत्र प्रयोगमा रोक लगाउन पनि भनेको छ। यसका साथै अमेरिका र उसका सेनाबाट सबै किसिमका सहयोग बन्द गर्न पनि इराकी संसदले माग गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जतिसक्दो चाँडो इराकबाट विदेशी सैनिक हटाउनुपर्ने बताएका हुन्। प्रधानमन्त्री महदीले आफ्नो देशका आन्तरिक र बाह्य समस्याहरू भए पनि आफैं सुल्झाउने पनि बताएका छन्।
इराकी प्रधानमन्त्री महदीले महिनौं चलिरहेको सरकार विरोधी प्रदर्शनपछि राजीनामा दिएका थिए। उनी अहिले कार्यवाहक प्रधानमन्त्री छन्। प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डर सुलेमानीको हत्या राजनीतिक हत्या भएको बताएका पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।
इराकबाट विदेशी सैन्यबल हटाउन संसदबाट पास भएको यो प्रस्ताव प्रधानमन्त्रीले हस्ताक्षर गरेर अनुमोदन गरेपछि कानुन बन्नेछ। यो कानुन लागू भए इराकमा कुनै अरू देशका सैन्यबल रहनु गैरकानुनी मानिनेछ।
इराक र अमेरिकाबीच भएको सम्झौता अनुरूप अमेरिकी सैन्यबल इराकमा रहँदै आएको छ। इराकले यो सम्झौता खारेज गरेमा अमेरिकी सैन्यबलले इराक छाड्नुपर्नेछ। नयाँ पेजबाट




















