हामी पनि कहिलेकांही साथीहरुसँग विभिन्न खालका सर्त राख्छौँ । काठमाडौंमा पनि बेलाबेला साथीहरुबीच सुरु हुन्छ, ल, यति प्लेट मम खानु, यति पैसा दिन्छु । अनि सर्त जित्ने चक्करमा विभिन्न उपद्रो पनि गरिन्छ ।
भारतको उत्तर प्रदेशमा पनि अन्डासँग जोडिएको एक सर्त बाहिर आएको छ । ४२ वर्षका एक व्यक्तिले आफूले आँट गर्दा ज्यान नै गुमाउनु परेको छ । ४२ वर्षका यी युवा बजारमा आफ्ना साथीसँग गएका थिए । त्यहाँ उनीहरुले सर्त राखे– कसले धेरै अन्डा खाने । हुँदा हुँद यी दुईबीच एक बोतल रक्सी र ५० अन्डा कसले खान सक्ने भन्ने सर्त भयो ।
सुभाष नामका ती युवाले अन्डा खाने भए । उनले अन्डा खानमात्र के सुरु गरेका थिए, मानिसहरु पनि अगाडि झुम्मिए । तर, सुभाषले ४२ औं अन्डाभन्दा धेरै खान नै पाएनन् । जब उनले ४२ औं अन्डा खाए, उनी बेहोस भएर ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो ।
त्यहाँ अस्पतालले उनलाई मृत घोषित गरिदियो । अस्पतालले उनको मष्तिष्कघात भएको जनायो । यदि सुभाषले ५० वटा नै अन्डा खाएको भए चाहिँ उनले सर्तअनुसार २ हजार भारतीय रुपैयाँ पाउँथे ।



















