उर्लाबारी । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान र ऐनबाहिर रहेर कुनै काम नगर्ने बताएकी छिन् । बिहीबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले आयोजना गरेका शुभकाना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

अहिलेसम्म आफूले कुनै गलत काम नगरेको बताउँदै मन्त्री तुम्बाहाङ्फेले जनताको हितमा रहेर ऐन र कानुन निर्माण गरेर अघि बढ्ने बताइन् । संविधान र ऐनमा रहेर काम गर्ने हो भने मात्रै सुशी नेपाली समृद्ध नेपाल बनाउन अभियानलाई सार्थकता बनाउन सकिने उनको भनाई छ । संघीय संसदबाट मौलिक हकसम्बिन्ध १६ वटा ऐन निर्माण भइसकेको र त्यसलाई कार्यान्वयन गर्नका लागि निमावली बनाउने कार्य भइरहेको उनले बताइन् ।

संविधानमा बाँझिने गरी स्थानीय तह, प्रदेश र संघीय सरकारका ऐन कानुन निर्माण गर्न नहुने उनले बताइन् । संविधानलाई कार्यान्वय गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभई आवश्यकताले दिएको दाबी गरिन् । नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री तुम्बाहाङ्फेले सरकारले राम्रा काम धेरै गरेको उल्लेख गर्दै त्यसलाई जनतामाझ पु¥याउन निर्देशनसमेत दिइन् ।

कार्यक्रममा पार्टीका मोरङ अध्यक्ष ऋषिकेश पोख्रेल, प्रदेश सदस्य बलबहादुर घिसिङ, मोरङ क्षेत्र नं. १ का संयोजक भूपाल जिमी, मोरङ क्षेत्र नं. १ क संयोजक ममता ताजपुरिया, जिल्ला सदस्य एबं उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी इन्चार्ज मानबहादुर श्रेष्ठ, उर्लाबारी नगर संयोजक उमाकान्त गौतमलगायतले बोल्दै मन्त्री डा तुम्बाहाङ्फेलाई बधाई तथा शुभकामना दिए ।