इटहरी,२५फागुन
समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिलन घिमिरेको सभापतित्वमा आज के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले कार्यक्रम गरेको हो ।
नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट वच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने सम्बन्धमा संघले अन्तर्कृया एवम् सचेतना जगाएको छ ।
कार्यक्रममा कुरोदय मार्सल आर्टस संघ प्रदेश न. १ प्रमुख प्रशिक्षक प्रकाशमान बस्नेत प्रमुख अतिथी थिए भने सामाजिक अभियान्ता एवम् माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारी, कुरोदय बेलबारीकी अध्यक्ष शितल राय, महिला व्यवसायी पदमा भट्टराई, महिलाकर्मी एवम् नाटककार बिमला कार्कीडोली, हिंसा पिडित तुलसा पौडेल लगायतको उपस्थिती रहेको थियो ।
समाजमा बलात्कार, दाइजो प्रथा, देउकी प्रथा, बोक्सी, छुवाछुत, श्रम शोषण, लैंगिक विभेद जस्ता विभिन्न महिला हिंसाहरु बिधमान रहेको र महिलाहरुमा शिक्षाको कमि, शारीरिक रुपमा महिला कमजोर हुनु, आत्मसक्षम नहुनु, पुरुष प्रधान समाज, सशक्तीकरणको अभाव, मादक पदार्थ सेवन, परम्परागत मान्यता, कुरिती, धार्मिक प्रचलन आदि कारणले महिला हिंसाहरु थुप्रै हुने गरेको अन्तरक्रियाले निष्कर्स निकालेको छ ।
कुनैपनी प्रकारको हिंसा भएमा सहनु हुदैन र त्यसको कानुनी उपचार खोज्नुपर्दछ । महिला र पुरुष दुबैको हातेमालो, सामुहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्यले मात्र हिंसा न्यूनीकरण हुन सक्दछ । अधिकार र सशक्तिकरणले महिलाहरुको सामाजिक अवस्था उकास्न सकिन्छ । घरेलु एवम् सामाजिक महिला हिंसाको शिकार पुरुषबाट महिला वा महिलाबाटै महिला पनि हुन सक्दछन् । हिंसाबाट बच्न सावधानी अपनाउने, समाजमा सचेतना जगाउने, सशक्तीकरण गर्ने र आत्मरक्षा सम्बन्धि सिपहरुको बिकास गर्ने जस्ता कार्य गर्नुपर्ने कार्यक्रमले साझा धारणा समेत बनाएको छ ।
कार्यक्रमका सभापति घिमिरेले महिला हिंसा विरुद्धमा सबै युवा एकताबद्ध भई जुट्नुपर्ने बताए । सबैको सामुहिक सोच, सकारात्मक चेत र प्रयत्नले मात्र महिला हिंसा कम गर्न सकिने उनले बताए । कार्यक्रममा बोल्दै माइती नेपाल सुन्दरहरैचाकी सचिव दिपा अधिकारीले आफुले समानताका निम्ति विगतमा हतियार समेत उठाएको बताइन् । सामाजिक रुपमा छोरा र छोरी बिचको खाडललाई पुर्न सके मात्र सुन्दर र सम्मुन्त समाज बन्ने उनको भनाई थियो । त्यस्तै महिला ब्यवसायी पद्मा भट्टराईल्र महिलाहरु आत्मनिर्भर बन्न सके हिंसाको सामना गर्नु नपर्ने बताइन् । उनले धेरै हदसम्म महिला हिंसा महिलाबाटै हुने गरेकोले सबैको सोचमा परिवर्तन गर्नुपर्ने बताइन् ।
कार्यक्रममा विभिन्न सचेतनामुलक सांस्कृतिक नृत्य, गित तथा प्रोजेक्टरबाट भिडियोहरु समेत देखाइएको थियो । ज्ञानु घिमिरे, बिनिता अधिकारी, मोनिका ढकाल, रन्जित दास, तुलसा पौडेल, प्रमोद गेलाल लगायतले महिला हिंसा बिषयमा आफ्नो सान्दर्भिक धारणा समेत प्रस्तुत गरे ।
सुन्दरहरैचा भरका युवा तथा महिलाहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रम माइक्रो एकेडेमीको हल बिराटचोकमा संचालन भएको हो । प्रत्येक बर्ष मार्च ८ लाई विभिन्न कार्यक्रम गरि अन्तरास्ट्रिय नारी दिवसको रुपमा मनाउदै आइएको छ ।


