काठमाडौं । कोभिड १९ ले गर्दा अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुलाई कामको बोझ दोब्बर भएको छ । यसको कारण हो– भर्ना भएका विरामीका आफन्त अस्पताल आउन नपाउनु । 

लकडाउनका कारण विरामीका आफन्त अस्पताल पुग्न पाएका छैनन् । त्यसकारण विरामीको स्याहारसुसारमा पनि स्वास्थ्यकर्मीहरु लाग्नुपरेको छ । भर्ना भएका विरामीको स्याहारसुसारमा परिवार पनि लाग्ने नेपाली चलन छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई विरामीको आफन्त समस्या बनेका छन् । ‘सबैजना पास माग्छन्’– काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  भने । 

त्यसो भए विरामीलाई अस्पतालमै छाडेर आफन्तले घर बस्ने त ?

‘विरामी भेट्न अस्पताल पनि नजानुस, जो–जहाँ हुनुहुन्छ त्यहिँ बस्नस् भनेर हामीले भनेका छौं’– दाहाल भन्छन् । 

सरकारले सवै प्रकारका सार्वजनिक सवारी चल्न रोक लगाएसँगै काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा चल्ने ट्याक्सी पनि बन्द भएको छ । स्थानीय प्रशासनले विरामी परेमा ट्याक्सी नखोज्नु, एम्बुलेन्समा फोन गर्नु भनेको छ ।

‘ट्याक्सी चल्न दिँदैनौं, बिरामी परे एम्बुलेन्स बोलाउनुस्’– प्रजिअ दाहाल भन्छन् । 

प्रजिअकोमा भीड

लडकडाउन भए पनि अत्यावश्यक सेवामा चल्ने सवारी भने निर्वाध चल्न पाउँछन् । 

‘जरुरी कामका लागी कसैलाई ओहोर–दोहोर गर्नुपर्छ भने प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराएको पास लिएर मात्र बाहिर निस्कन पाउनुहुन्छ’– गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले सनराइज खबरलाई भने–‘पास बिनाका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।’ 

अहिले काठमाडौं, लतिपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा पास लिन खोज्नेहरुको भीड लागेको छ । त्यसैगरी अन्य विभिन्न जिल्लाका प्रजिअकोमा पनि पास लिन चाहनेहरुको भीड लागेको छ ।

‘हामी आवश्यकता हेरेर तथा अत्यावश्यक सेवालाई मात्र पास दिन्छौं, अहिले अनावश्यक रुपमा पास लिन खोज्नु पाप पनि हो र अपराध पनि हो’– प्रवक्ता शर्मा भन्छन् ।