भाषा मानवीय अनुभव एवम् विचारको अभिव्यक्ति हो । अनुभव एवम् विचारलाई जति प्रभावकारी रुपमा व्यक्त गर्न सकियो उति अरुका लागि पनि प्रभावपूर्ण र ग्राह्य हुन जान्छ । परिष्कृत भाषामा परिष्कृत विचार निहित हुन्छ ।

अपरिष्कृत भाषामा विचार राम्रो र शुद्ध रहेछ भने पनि भाषाका अशुद्धिले गर्दा पाठकको ध्यान आकर्षित गर्नगाह्रो पर्छ । अशुद्धिले गर्दा पाठकका मनमा किरकिराहट उत्पन्न हुन्छ र गम्भीर एवम् विद्वतापूर्ण विचारलाई सही विचार ग्रहण गर्न पाठकहरु असफल हुने सम्भावना रहन्छ । अतः विचारको सुस्पष्ट एवम् प्रौढ अभिव्यक्तिका लागि अपरिष्कृत तथा अशुद्ध भाषा बाधक बन्न जान्छ। लेख्य वर्णहरुको रखाइक्रम नै वर्णविन्यास हो ।

वर्णहरुको रखाइक्रम अन्तर्गत मात्रा लागेका वर्ण तथा वर्णहरुको संयुक्त एवम् मिश्रित आबद्धताका साथै पदयोग र पदवियोग सम्बन्धी कुरालाई पनि सम्झनुपर्छ । वर्णविन्यासका अर्थमा हिज्जे वा बर्तनी शब्दको पनि प्रयोग भएको पाइन्छ । जुनसुकै भाषाको वर्णविन्यास त्यस भाषाको लेख्य परम्परासँग सम्बन्धित रहन्छ ।

कथ्य भाषाको जस्तै लेख्य भाषाको पनि आÇनै परम्परा हुन्छ । प्रायः कथ्य भाषाको प्रतिबिम्बनका रुपमा लेख्य भाषालाई मानिने भए तापनि कथ्यका भन्दा बेग्लै किसिमका विशेषताहरुलाई पनि लेख्य भाषाले सँगेलेको हुन्छ । लेख्य भाषाले सँगेलेका भिन्न विशेषताहरुमध्ये एउटा महत्वपूर्ण विशेषता वर्णविन्यास हो ।

भाषाको उच्चारण र लेखनमा सबै स्थितिमा दुरुस्त संगति नहुनुमा वर्णविन्यासको परम्परालाई मुख्यतः जिम्मेवार मान्न सकिन्छ । जुनसुकै भाषामा लेख्य रुपको विकास हुँदै गएपछि त्यसको लेख्य पद्धतिमा पनि खास परम्परा थपिँदै गएका हुन्छन्। यस्तो परम्परा एउटै लिपि प्रयोग गर्न भिन्न भिन्न भाषाहरुमा पनि बेग्लाबेग्लै किसिमले विकसित हुँदै गएको पाइन्छ ।

त्यसैले, लिपि र वर्णविन्यासबीच केही यस्ता भिन्नता देखापर्नु स्वभाविक छ । प्रत्येक भाषाले आÇनो भाषाको प्रकृति अनुसार लिपिलाई उपयोग गरेको हुन्छ । भाषालाई लिखित रुप दिन थालेपछि लिपि विन्यासका आ–आÇना परम्पराहरु पनि त्यसमा घुस्न थालेका हुन्छन् । लिपिविन्यासको यही आ–आÇनै किसिमको परम्परालाई वर्णविन्यास भनिएको हो ।

नेपाली भाषामा केही यस्ता वर्णविन्यासीय सीप नियमहरु छन् जुन कथ्य नेपालीको उच्चारण प्रव्रिmयासँगै मेल खाँदैनन् । जस्तो बोलिन्छ, उस्तै लेखिदैन भने त्यहाँ वर्णविन्यासी सीप नियमले काम गरेको हुन सक्छ तर बोलीअनुसार नलेखिनुको आशय लिखित सामग्रीलाई स–स्वर पढ्दा त्यसैलाई अर्को किसिमले पढिने भन्ने चाहिँ होइन ।

पढ्दाखेरि भने स्तरीय कथ्य भाषाको उच्चारण प्रव्रिmयामा नै पढिन्छ तर लेख्दा भने वर्णविन्यास उच्चारण विन्यासभन्दा केही वा निकै भिन्न हुन पनि सक्छ । उक्त किसिमका सम्भाव्य भिन्नतालाई पनि ख्याल गरेर लेख्नु नै लेखनमा परिष्कृत वर्णविन्यासको उपयोग गर्नु हो ।

वर्णविन्यासका दृष्टिले अङ्ग्रेजी भाषालाई निकै जटिल मानिन्छ। अङ्ग्रेजीमा २६ उच्चार्य वर्णहरु छन् । ती वर्णहरुको प्रतिनिधित्व परम्परागत र्णमालाका २६ वर्णहरुले मात्र गरिआएका छन् । त्यसैले, अङ्ग्रेजीमा उच्चारण र वर्ण विन्यासमा सबै व्यतेरेकी (अर्थभेदक) वर्णहरुको प्रत्यक्ष सङ्गति स्थापित गर्न सकिँदैन ।

शुद्ध वर्णविन्यास लेखनका दृष्टिले नेपाली भाषामा अङ्ग्रेजीको जस्तो व्यापक असङगति पाइँदैन किनभने यसका वर्णमालामा स्तरीय नेपाली भाषामा उच्चारित हुने सबैजसो व्यतेरेकी वर्णहरुको प्रतिनिधित्व छ । अङ्ग्रेजीमा जस्तो एकभन्दा बढी वर्णहरुको प्रतिनिधित्व गर्न एउटै लिपि चिन्हको उपयोग गर्नुपर्ने स्थिति यसमा छैन ।

जसरी नेपाली भाषाको वर्णविन्यास वर्णमालाका वर्ण वा लिपि चिन्हहरुका दृष्टिले असङ्गत नदेखिए तापनि कथ्य भाषामा उच्चारित नहुने कतिपय वर्णहरुको प्रतिनिधित्व लेख्य नेपालीमा गराइने परम्परा हामीकहाँ छ । जसले गर्दा जस्तो बोलिन्छ उस्तै लेखिदैन भन्ने कुरा र जस्तो लेखिन्छ उस्तो पढिँदैन (सस्वर रुपमा) भन्ने कुरा यसमा पनि केही प्रतिशत लागू भएको पाइन्छ ।

उदाहणांर्थ, नेपाली वर्णमालामा पाइने ञ, श, ष, क्ष, ज्ञ जस्ता लिपि चिन्हरुहरुको शिक्षित नेपाली वक्ताले कथ्य नेपालीको प्रयोगमा पनि सही उच्चारण गदैनन् तर लेख्य भाषामा भने यिनको प्रयोग गरिन्छ । उक्त किसिमका वर्णहरुको शुद्ध उच्चारणका लागि नेपाली भाषामा विशेष आग्रह पनि गरिँदैन किनभने नेपाली भाषामा यी वर्णविन्यासीय परम्परासँग मात्र सम्बन्धित अतिरिक्त लिपिचिन्हहरु हुन् ।

यिनले उच्चार्थ रुपमा कुनै अर्थभेदकताको काम गर्न सक्दैनन् । तत्सम् शब्दहरुको उच्चारण जस्तो गरिए पनि लेख्दा चाहिँ तिनलाई तत्समको वर्णविन्यासीय नियमानुसार लेख्ने परम्पराले नेपाली भाषाको कथ्य र लेख्य व्यवस्थामा उक्त किसिमका भिन्नता थपिएका छन् । यस भाषामा उच्चारित नहुने मात्रा सहित वा मात्राविरहित ञ, श, ष, क्ष, ज्ञ जस्ता वर्णहरु तथा मात्रासहित र मात्रा रहित ण, य, व जस्ता कथ्य नेपालीको उच्चारणका क्रममा ज्यादै कम सन्दर्भमा उच्चारण हुने वर्णहरुको लेख्य भाषामा तत्सम वर्णविन्यासीय नियमहरुका आधारमा समेत प्रतिनिधित्व हुने परम्पराले नेपाली वर्णविन्यास केही जटिल हुन गएको छ ।

नेपाली भाषामा तत्सम (संस्कृत स्रोतका) शब्दहरु भरपुर छन् । त्यसमा फेरि यिनीहरुको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । उक्त स्थितिलाई ध्यानमा राख्दा तत्सम शब्दको वर्णविन्यास लेखन नेपाली भाषा शिक्षणमा महत्वपूर्ण समस्या बन्न गएको छ ।

उपर्युक्त समस्याका अतिरिक्त भाषामा ह्रस्व रुपमा उच्चारित हुने शब्दको अन्तिम इकार–उकारलाई पनि शब्दवर्ग (नाम, सर्वनाम, विशेषण, व्रिmया, व्रिmयायोगी, नामयोगी) आदि लिङ्ग, व्रिmयार्थ आदिका दृष्टिले ह्रस्व वा दीर्घ लेख्ने प्रचलनले पनि वर्णविन्यासमा समस्या थपेको छ।

उदाहरणार्थ, पानी, पनि, सानी यी तिनै शब्दको अन्तिम इकार एउटै किसिमले उच्चारण हुने भएपनि शब्दवर्ग तथा लिङ्गका आधारमा ह्रस्व वा दीर्घ लेखिएका छन् । शुद्ध वर्णविन्यासमा लेखनका लागि नेपाली भाषाका प्रयोगकर्ताले कुन शब्द कुन वर्गको हो, जान्नु आवश्यक ठहर्ने देखिन्छ ।

जुनकुरा सर्वसाधारणका लागि त्यति सजिलो कुरो होइन । साथै तत्सम शब्दका दीर्घ इकार–उकार (जुन नेपालीमा उच्चार्थ दृष्टिले अर्थभेदक हुँदैनन्) पनि तत्सम शब्दकै नियम अनुसार लेखिनु पर्ने कुरा त छँदैछ । यसका अतिरिक्त नेपाली भाषामा वर्णविन्यास अन्तर्गत पदयोग जोडिने र छुट्याउने) परम्परालाई पनि लिइन्छ ।

नेपाली वर्णविन्यासको परम्पराअनुसार विभक्ति र नामयोगीहरु जुन शब्दका लागि आएका छन्, त्यही शब्दमा जोडेर लेख्ने गरिन्छ । तर विभक्ति र नामयोगीहरु जुन शब्दका लागि आएका त्यही शब्दमा लेखिँदैनन् आदि जस्ता केही नियमहरुको पदयोग र पदवियोग सम्बन्धी वर्णविन्यासलाई प्रभाव पार्दछन् । सामान्यतः नेपाली भाषामा शब्द–शब्दलाई छुट्याएर लेख्ने चलन छ, तर समास भएका शब्दहरु भने जोडेर पनि लेखिन्छन् ।

तर दुईभन्दा बढी शब्दहरुको समासमा चाहिँ पदयोगको कुनै निश्चितता देखिँदैन । यही पदयोग र पदवियोगले गर्दा कतैकतै अर्थभेदकताको अनुभव पनि गरिन्छ। जस्तैः उसले किताब पढी (पढेर) राख्नेछ वा उसले किताब पढिराख्नेछ (पढ्नेछ) । उक्त उदाहरणले त उच्चार्थ विभेदकताकै प्रतिबिम्बन गरेको पाइन्छ ।

वस्तुतः पदयोग र पद वियोग सम्बन्धी वर्णविन्यासीय समस्याहर त्यति जटिल छैनन् जति ह्रस्व, दीर्घ र तत्सम वर्णविन्यासका समस्याहरु देखिन्छन् । अन्त्यमा, वर्णविन्यासका लेखनका केही परिपाटी बाहेक वर्णविन्यासका दृष्टिले नेपाली भाषाको लेखन व्यवस्था स्तरीय कथ्य नेपालीसँग मिल्दोजुल्दो छ । यहाँ स्तरीय कथ्य नेपाली भन्नुको तात्पर्य के हो भने नेपाली एउटा जिउँदो भाषा भएकाले यसका वक्ताहरुले कथ्य भाषाको मानक वा स्तरीय रुपबाट विचलित खालका प्रयोगहरु पनि व्यवहारमा प्रशस्त ल्याइएका हुन्छन् ।

उदाहरणार्थ, गएको शब्दलाई नै लिन सकिन्छ । जसका कथ्य नेपालीमा विभिन्न स्थानीय भेदहरु ( गको, गाको, गेको, गयाको आदि) भेटाइन्छन् । यसको मानक रुप भने गएको लाई नै मानिन्छ । उक्त किसिमका स्थानीय भाषाका साथै अन्य भाषाबाट प्रभावित उच्चारणगत भिन्नतावाला शब्दहरु पनि नेपाली भाषाको कथ्य प्रयोगमा प्रशस्त पाइन्छन् । यस्ता शब्दहरुमा जस्तो बोलिन्छ, त्यस्तै लेखिन्छ भन्न मिल्दैन तर कथ्यको मानक प्रयोगलाई आधार मानियो भने चाहिँ उक्त कुरा समुचित देखिन सक्छ।

लेखकः पथरीशनिश्चरे–१ स्थित पञ्चायत मा.वि.का अध्यापक हुनुहुन्छ।