भूमिप्रसाद पाठक

यतिबेला सर्वत्र कोरोना भाइसरको त्रास फैलिरहेको अवस्था छ । सञ्चारमाध्यमले हामीलाई जोडेको विभिन्न श्रव्यदृश्य सन्दर्भहरुलाई हेर्दा केलाउँदा कोरोना संक्रमणको जिवाणुले मानिसलाई सन्त्रासमा बाँच्न वाध्य बनाएको छ ।

यो समय क्रमशः लम्बिँदै गएको छ । रोकथाम र सावधानीका उपायबारे नागरिक निश्चिन्त हुन सकेको छैन।यसमा पनि मानिसको दिनदैनिकी, छाकबास, न्युनतम् आवश्यकता परिपूर्ति गर्न अधिकांश विपन्न र अति विपन्न वर्गको मानिसलाई धौ–धौ छ ।

गाउँ–गाउँमा सिंहदरबारको रुपमा रहेका स्थानीय सरकारको भूमिकामा रहेका पालिका सरकारमार्फत सरोकारवाला आममानिसले स्वभाविक अपेक्षा लिएर बसेको हुन्छ । नागरिकलाई अप्ठ्यारो, असजिलो र आपतविपद् आइलाग्दा यो अपेक्षा र सामिप्यता राज्यसँग अभिभावकको रुपमा जोडिएको हुन्छ ।

कम्तीमा पनि नागरिकबारे चासो लियोस्, उसको खानपान, छाकबास, औषधीउपचार, आधारभूत आवश्यकताको परिपूर्ति होस् भन्ने चाहन्छ । पथरी शनिश्चरे नगरपालिका यसको अपवाद हुन सक्दैन ।

यो स्वभाविक सम्बन्ध, कर्तव्य र दायित्वबोधको विषय हो । यो महत्वपूर्ण विषयको आभासलाई दिने भनेको राज्यको इकाइको रुपमा क्रियाशील संयन्त्र, जनप्रतिनिधि र कर्मचारी वर्गले नै हो ।

यदि, अभिभावकत्वबोध गर्ने यस प्रक्रियामा परस्पर सम्बन्ध र समन्वयकारी भूमिकामा कहिँ कतै कमी रह्यो भने चश्माको एउटा मात्र ग्लास खराब हुँदा समग्र दृष्टि बिग्रिएकोजस्तो भान पर्नु स्वभाविक हुन्छ ।

यसमा पनि कोरोनाजस्तो भयावह संक्रमण रोकथामका नाममा राज्य संयन्त्रभित्र दोष देखापर्नु राजनीतिक प्रणालीअन्र्तगत समग्र सृष्टिमै नै खराब भएको नियतिका रुपमा नागरिकले परिस्थितिलाई ग्रहण गर्नु झन स्वभाविक हुन्छ ।

देशदुनियाँमा कोरोनाको उपस्थितिसँगै मनोवैज्ञानिक त्रासले आममानिस पीडित छ । प्रत्येक देश, भू–भाग, जात, धर्म, समुदायको मानिस पीडामा रुमलिएको छ । एकाएक थिलोथिलो भएको छ ।

यसबाट उन्मुक्तिको चाहनाबाहेक अहिले यतिखेर मानिसमा अर्को कुनै उत्कण्ठता देखिँदैन । नागरिकको पहिलो कर्तत्व, हक अधिकारको प्रत्याभूति, प्रत्यक्ष परोक्ष सरोकार, सेवा, सुविधाको भूमिकामा रहेको स्थानीय सरकारले आफ्नो अनिवार्य दायित्वबाट चुक्नु हुँदैन ।

आकारमा सानो वा ठूलो होला ! भूमिकामा तीब्र वा औसत होला ! पथरी शनिश्चरे नगरपालिका यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने विषयमा अपवाद हुन सक्दैन ।

कोरोना संक्रमण रोकथाम एवं व्यवस्थापन संयन्त्र निर्माणदेखि लिएर औषधी उपचारजन्य वस्तुहरुको खरिद–बिक्रीका सम्बन्धमा जे–जस्ता कुराहरु बाहिरिएका छन्, यो कुनै पनि अर्थमा राम्रो र सुखद् पक्ष होइन ।

नगरभित्र संयन्त्र निर्माणमा सर्वदलीय र सर्वपक्षीय नागरिक सहभागिताको अभाव यत्रतत्र उठिरहेको छ भने औषधी उपचार उपकरण खरिदसम्बन्धी व्यक्तिका नाममा रकम हस्तान्तरण गरिनु, हालसम्म बेरुजु रहनु र फरफरार अभावमा सार्वजनिक असन्तुष्टि पोखिनु राम्रो होइन ।

लोकतन्त्र भनेको राज्य शासन प्रणाली सञ्चालनका सन्दर्भमा नागरिक सर्वसहभागिता र व्यवस्थापनको क्षेत्रमा यसको पारदर्शिता प्रमुख पक्ष हो । अहिले राजनीतिक दाउपेच थाप्ने बेला होइन । चुनावी मनोविज्ञानमा आधारित तयारीको बेला होइन ।

आममानिसले झेलेको मानवीय संकटबाट उन्मुक्ति कसरी पाउने भन्ने बेला हो । कोरोना संक्रमण आममानिसको पहिलो चासो, सरोकार र विजय पाउनुपर्ने एकमात्र गन्तव्यको विषय हो । यो नितान्त भिन्न परिस्थिति हो ।

यसलाई दलीय आँखाले होइन, नेतृत्वको विवेकमा बसुदैवकुटुम्बकम् हुन सक्नुपर्छ । प्रयोगमा ल्याइएका संयन्त्रहरुमा राजनीतिक सत्ता र दलीयसत्ताबाहिर नागरिक सर्वसहभागिता र व्यवस्थापनको क्षेत्रमा यसको पारदर्शिताको अभाव अड्कियो भने आवश्यक सहयोग र सद्भाव प्राप्तिको अवस्थासमेत हाम्रो हातबाट गुम्छ ।

अहिले बजारमा रुपैयाँ १० लाखको विषय जसरी उठेको छ, स्थानीय हुनुको नाताले पनि गर्वबोध सकिने ठाउँ छैन । हिनताबोध हुन्छ– हामी कति नीच ! मानवीय संवेदना कहाँ पुग्यो ? जीवन र मृत्युको दोसाँधलाई कमाउने, धमाउने मनाशयका साथ किन प्रेरित भइरहेका छौं ? एउटा विवेकसम्मत् मानिसलाई घच्घच्याइरहने पक्ष हो ।

नगरका प्रतिनिधिपात्रहरु भन्छन्– नागरिक संक्रमणबाट बच्न घरभित्र छ, नेतृत्व कमाउने दाउमा सडकमा गुडिरहेको छ । मह काडेर हात चाट्ने कुरा त ठीकै हो, शौच पखालेको हात चाट्ने कुरा त बिल्कुनै सुहाएन । यसरी कैयौंप्रकारका प्रश्न बन्ने गरेका छा् । यो कति न्यायोचित् हाम्रो व्यवहार र व्यवहारको व्यवस्थापन हो ? गम्भीरतापूर्वक घोत्लन जरुरी छ ।

मलाई वर्षौंपहिलेको बालसुलभ जीवन चक्रको याद आउछ । ९० वर्ष उँभो बाँच्नुभएका हजुरबा उहिले कहिले भन्ने गर्नुहुन्थ्यो– ‘हर्पेमा घीउ छ, पोटिलो जीउँ छ ।’ उहाँको देहावसानपछि हजुरआमाले भन्न थाल्नुभयो– ‘कसलाई के धन्दा, कसलाई के धन्दा; घरज्वाईंलाई खानकै धन्दा !’

वाक्यार्थ सजिलै भए पनि भावार्थ भने पथरी शनिश्चरेको परिवेशभित्र हुर्किएको दुई कोरीपछिको मेरो जीवनमा बल्ल बुझ्न थाले । प्रेरणामा मात्र जीवित उहाँहरुको यो अभिव्यक्ति अहिलेको घटनाक्रम अध्ययनको साहारा बनेको हो कि ! ममा एकाएक भान पर्न गएको छ ।

नेतृत्वबाट कसरी दीक्षित हुने ? प्रेरित हुने ? आदर्श मान्ने ? प्रश्नैप्रश्नको चाङले मन मस्तिष्क भरिएको छ । राजनीतिक व्यवस्थाको यो उदांगो अभिव्यक्ति, सदाचारयुक्त शैली र आचरण अभावको नेतृत्वको लाचारी प्रस्तुति, अकर्मण्य आजको राजकीय संयन्त्रले हामीलाई ओत दिइरहेको छ त !

जनताको साहदत, ठूलो त्याग, बलिदानबाट प्राप्त आजको राजनीतिक व्यवस्थाभित्र स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले नियन्त्रणमा लिन नसकेको यो स्वेच्छाचारी र अनियमितता आधारित आर्थिक पक्षलाई सुदृढ बनाउने त कता हो कता, उपलब्ध स्रोतमाथि निर्लज्ज दोहन गर्न उत्रिएको पात्र, प्रवृत्ति र चरित्रलाई किन रोक्न सक्दैन ?

यतिखेर सडकमा आएर पोखिनुभएन, मौनतामा आक्रोस पोखिएको छ । जनता करुणा भरिएको स्वरमा रोदन पोखिरहेको छ । शासन व्यवस्थाको नाम नयाँ छ, कर्मचारीतन्त्र पुरानै शैलीलाई झल्को दिने शासक बनेको छ ।

कसलाई के धन्दा, कसलाई के धन्दा; घरज्वाईंलाई खानकै धन्दा भनेझैँ क्यारेन्टाइनमा घरभित्र बसेर निरोग संसार खोजेको मानिसलाई यो भयावह महामारीबाट बच्न छ र बाँच्नु छ, घरबाहिर हुइकिएको नेतृत्व अलिकति भए पनि जोहो गरिहाल्ने कि भन्ने ध्याउन्नमा छ ।

हामीले चाहेको शासन व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रभित्र हाम्रो अपेक्षा यहिँ हो त ? समयछँदै विवेक पु¥याउन आवश्यक भएको छ ।
: २०७६ चैत्र २२ गते ।