हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ।

आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो।

घटना यही जेठ ८ गरेको हो। हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा उजुरी पर्यो।

सञ्चालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिँजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजीसमेत गरेका थिए। 

जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाल घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरणसहित निवेदन दिए।

सनराइज बैंकबाट ५० लाख रुपैयाँ ऋण चाँडै तिर्न बारम्बार दबाव आएपछि घिमिरेले पसलको बिमा गरी चोरीको प्रपञ्च रचेका थिए।

निवेदनमा १७ लाख ३० हजारको वाइरिङ तार ३१ बोरा, दुई लाखको एलइडी बत्ती १२ कार्टुन, नौ लाख ३२ हजारको स्विच १४ कार्टुन, एक लाख १८ हजारको सिलिङ पंखा चार कार्टुन र नगद तीन लाख १२ हजारसहित ३२ लाख ९३ हजार रूपैयाँको चोरी भएको उल्लेख थियो।

प्रदेश ३ को अस्थायी राजधानी रहेको हेटौंडाको मुख्य चोकमै ठुलो परिमाणमा सामान चोरी भएको घटनालाई प्रहरीले पनि गम्भीर रूपमा लियो। यो खबर मकवानपुरबाट अशोकसुजन श्रेष्ठले आजको नागरिक दैनिकमा लेखेका छन्। 

मकवानपुर प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान सुरु भयो।

‘अनुसन्धानबाट निवेदकको व्यहोरा पुष्टि हुने कुनै कुरा फेला परेन,’ मकवानपुरका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हामीले पसल सञ्चालक घिमिरेकै स्व–योजनामा बनावटी चोरी भएको पुष्टि भएपछि पक्राउ गरेका हौं।’