इटहरी । उमेर वित्दै गए पनि राजनीतिक व्यवस्तताका कारण बिबाह गर्न नपाउँनु भएका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ ।

प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएपछि यस्तो खुलासा भएको हो ।

‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अबिबाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेपछि यस्तो जानकारी दिइएको हो ।

छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा सहभागीहरुले नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको बिबाहको कुरा चलाएका हुन् ।

कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणका लागि आफ्नो धारणा राख्ने क्रममा नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोड दिए । उनको भनाईलाई कार्यक्रममा सहभागीले चाख मानेर सुनेका थिए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘प्रदेशले छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान थालेको छ । यस अभियानलाई सफल बनाउने हो भने मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्छ । उहाँले दलितको छोरीसँग बिवाह गर्नुपर्छ । बरु कलिया (लमी) गर्न परे म आफै गरौंला ।’ राईले आफ्नो बिहेको कुरालाई टार्दै आउँनु भएको छ ।