भूमिप्रसाद पाठक,
पथरी, भदौ ७ । मोरङ जिल्लामै अब्बल शैक्षिक संस्थानको रूपमा द्रुतत्तर ढंगले परिचय कमाउँदै आएको पञ्चायत मावि, पथरी शनिश्चरेको प्रविधिमैत्री, सेवा र सुविधाका हिसावले अत्याधुनिक १२ कोठे भवनको पहिलो तलाको छत ढलान कार्य हिजो भदौ ६ गते शनिबार बिहान सम्पन्न भएको छ ।
पाउँ पाथिभरा निर्माण कम्पनी, दमकले भवन ढलानको जिम्मा लिएको हो । ढलानमा प्रयोग भएको प्रविधि आफैमा नितान्त भिन्न, नौलो र नमुना प्रकृतिको थियो । फलतः दर्जनौं कामदारले २/३ दिन लगाएर गर्नुपर्ने यत्रो ठूलो ढलानको कामलाई यो निर्माण कम्पनीले प्रयोग गरेको प्रविधिको सहयोगमा झण्डै ३ घण्टामै सम्पन्न गरेको थियो । प्रदेशको एउटा महत्त्वपूर्ण गहनाको रूपमा बुझिएको यो विद्यालयले संघीय सरकारबाट प्राप्त गरेको रूपैयाँ १ करोड ५० लाखमा ३ तले भवन यहीँ आर्थिक वर्ष २०७७/०७८ भित्र बनाइसक्नुपर्ने छ ।

३ तले भवनभित्र सञ्चालनमा ल्याउनुपर्ने शैक्षिक कार्यक्रमअन्तर्गत आवश्यक कक्षाकोठाका अतिरिक्त यस परिसरका लागि छुट्टै प्रशासनिक कार्यकक्ष, शौचालय, सभाहल, खानेपानी, चमेनागृह, कम्प्युटर कक्ष, नर्सिङ कक्ष, प्रविधि प्रयोगशाला कार्यकक्ष आदि निर्माण गरिने कार्यक्रमिक कार्यतालिका रहेको विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

निर्माण कार्यस्थलमा दत्तचित्त भएर हर्दम खटिइरहनुभएको अवस्था भेटिनुहुने प्राचार्य बुढाथोकीका अनुसार प्रदेश सरकारको सहयोगमा विद्यालयले गत शैक्षिकसत्रदेखि नै प्रत्येक कक्षाकोठामा इन्ट्रयाक्सन बोर्ड राखेर शैशिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्थानीय शैक्षिक उन्नयनका लागि अहोरात्र डटिरहनुभएका प्राचार्य बुढाथोकीकै कार्यकालमा विद्यालयले विषयगत विविधताका अतिरिक्त सम्पूर्ण रूपले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्दै आएको छ ।
स्थानीय गौरवका रूपमा समुदायले ग्रहण गर्ने यो विद्यालय– पञ्चायत माविले आफ्ना अपाङ्ग छात्रछात्राका लागि अपाङ्गमैत्री भवन निर्माणको कार्यलाई तदारूकता दिइरहेको छ । अपाङ्ग/अशक्त विद्यार्थीमैत्री यो भवन ८ कोठे रहने डिजाइन तयार भएको, डिजाइनअनुसार काम अघि बढेको र यो एउटा पृथक महत्त्व राख्ने शैक्षिक परिसर हुने भएकोले यसअन्तर्गत सुविधासम्पन्न बाचनालय हुने, यहाँ आई. टी. ल्याब हुने, यसको पनि छुट्टै प्रशासनिक कार्यकक्ष हुने, कर्मचारी आवासगृह रहने, विभिन्न कारण अशक्त विद्यार्थीको उपस्थितिलाई ध्यानमा राख्दै अशक्त विद्यार्थीमैत्री शौचालय रहने निर्माण कार्यतालिका रहको विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइताकुमारी राईं तुम्बापोले बताउनुभयो ।

एउटा फरक प्रसङ्गमा अध्यक्ष तुम्बापोले सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय प्रदेश नं. १ धनकुटाको सहयोगमा १६ कोठे भवन बन्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । विज्ञान सङ्कायमा प्रदेशभरिमै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल पञ्चायत माविमा विज्ञान, कानुन, प्रविधिक शिक्षातर्फ सिभिल इन्जीनियरिङ, व्यवस्थापन, मानविकीलगायत शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालनमा आइरहेका छन् ।
जिल्लाबाहिरका समेत विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको पञ्चायत माविमा साढे २३ सयभन्दा बढी विद्यार्थीहरूले उल्लेखित शैक्षिक कार्यक्रमअन्तर्गत विषयगत विज्ञताका हिसावले यस नमुना शिक्षा विकासकेन्द्रमा आबद्ध शिक्षक/शिक्षिकाहरूको सिकाइ विधिबाट लाभ लिइरहेका छन् ।
नमुना विद्यालयका लागि लक्षित नमुना कार्यक्रमअन्तर्गत गएको शैक्षिक सत्रदेखि नै नर्सिङ कक्ष, ड्रोइङ कक्षको उपलब्धता थियो । अब यसपटक भने आउँदो शैक्षिक सत्रदेखि कक्षा १ मा चाम्लिङ राईं भाषामा पठनपाठन हुने, चित्रकला र मूर्तिकलाको पनि प्रयोगात्मक पढाई सञ्चालनमा ल्याइने कार्यक्रम रहेको प्राचार्य बुढाथोकीले जानकारी दिनुभयो ।
एउटा फरक प्रसङ्गमा कुरा हुँदा पञ्चायत माविको समग्र शैक्षिक विकास दरले आफूलाई स्थानीय हुनुमा गौरवबोध भएको सेवानिवृत्त शिक्षक एवं सामाजिक–राजनीतिक व्यक्तित्व पर्शु मिश्रले बताउनुभयो ।
यस परिसरका लागि निर्मित भवनको यो अारम्भ भएकोले ढलान कार्यक्रममा संविधानसभा सदस्य माननीय चण्डीप्रसाद राई, राजनीतिकर्मी युवराज बास्काेटा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष देवराज भण्डारी, माेहन तुम्बापाे, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भीमकुमार राई, नगर कार्यपालिका सदस्य अरुणा राई, समाजसेवी पर्शुराम मिश्रलगायत दर्जनौं गन्यमान्य व्यक्तित्वको सक्रिय उपस्थिति रहेको थियो ।


