एजेन्सी । भारतीय टेलिचलचित्रकी अभिनेत्री निया शर्माले स्टंटमा आधारित भारतीय टेलिभिजन (रियलिटी) शो ‘खतरों के खिलाडी–मेड इन इन्डिया’ को विजेता बनेकी छिन ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अभिनय भन्दा पनि हाई टेम्पर र तुरुन्तै प्रतिकृया दिने स्वभावका कारण चर्चित निया शर्माको सहभागिताले ‘खतरों के खिलाडी–मेड इन इन्डिया’ नामक कार्यक्रमलाई खासै फाइदा पुगेन ।

यो टेलिभिजन शोले यसपटक दर्शकहरुको माया पनि खासै पाउन सकेन । टेलिभिजनमा कार्यक्रम प्रशारण हुँदा चर्चा भयो, न टिआरपीमै बृद्धि भयो ।

शोको सुरुवात रोहित सेट्टीको सट्टामा फराहा खानसंग गराइएकाले पनि यसको लोकप्रियता बढ्न नसकेको बताइएको छ । सबै एपिसोड भारतमै छायांकन गरिएको ‘खतरों के खिलाडी–मेड इन इन्डिया’ ले अघिल्ला संस्करणहरुको जस्तो लोकप्रियता कमाउन नसकेको भएपनि कार्यक्रम मस्ती मजाकपूर्ण वातावरणमा सुरु भएको उपाधि विजेता निया शर्माले बताइन ।

उनले भनिन, “हरेक स्टंटमा मैले पुरा मिहेनत र हिम्मतका साथ काम गरेकी छु । यो शोको उपाधि जित्नु मेरा लागि यो सिजनको खुसी र सन्तुष्टि हो ।”

सन २०१० मा ‘काली–एक अग्निपरीक्षा’ टेलिफिल्मबाट डेब्यु गरेकी निया शर्माको वास्तविक नाम नेहा शर्मा हो । ग्ल्यामरस् करिअरका क्रममा यीनले आफ्नो नाम परिवर्तन गरेकी हुन ।

सन १९९० सेप्टेम्बर १७ मा दिल्लीमा जन्मिएकी नियाले मास कम्युनिकेशनमा ग्रेजुयसन गरेकी छिन ।






























