एजेन्सी । धेरै कम्पनीहरुले उड्ने कारका लागि गएका वर्षहरुदेखि नै काम अगाडि बढाइरहेका छन् । अब भने यो सपना साकार हुने बेला भएको छ । चाँडै नै आम मानिसको पहुँचमा उड्ने कार पुग्ने गरी जापानले यसको तयारी पनि गरेको छ । जापानी कम्पनी स्काइ–डाइभ इन्कले यसप्रकारको कारको परीक्षण शुरु गरेको हो ।

एक पत्रकार सम्मेलनमा कम्पनीले कारको उडिरहेको भिडियो देखाएको छ । भिडियोमा कार जमिनदेखि २ मिटर अर्थात करीब ६.५ फिटसम्मको उचाईमा उडिरहेको देखाइएको थियो । सोही कार एक निश्चित क्षेत्रमा करीब ४ मिनेटसम्म हावाको अडिएको थियो ।

स्काइ–डाइभको यो परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाले यसलाई सन् २०२३ सम्ममा आम मानिसका लागि अन्तिम तयारी गरिरहेको बताएका छन् । उनले यसलाई सुरक्षित बनाउन ठूलो चुनौतिको काम भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा तोमोहिरो फुकुजावाले संसारभरमा उड्ने कारका लागि १०० भन्दा बढी कम्पनीहरु आ–आफ्ना तयारीमा लागेका बताए । उनले कतिपय कम्पनीहरुले एक व्यक्तिलाई लिएर उड्ने क्षमता भएका कारको सफल परीक्षण पनि गरेका बताए ।

फुकुजावाले भने, ‘उड्ने कार चलाउने व्यक्ति आफू सुरक्षित महशुस हुने कुरामा ढुक्क गराउनु हाम्रो मुख्य ध्यान रहेको छ ।’ उनले यो कार ५ देखि १० मिनेट मात्र उड्न सक्ने बताउँदै यसको उडान समय बढाएर ३० मिनेट गर्न सकिने जानकारी दिए । चीन जस्ता देशहरुमा यसलाई निर्यात गर्न सकिने पनि उनको तर्क थियो ।

स्काइ–डाइभ प्रोजेक्ट सन् २०१२ मा एक स्वेच्छिक परियोजनाको रुपमा काम शुरु भएको हो । यो परियोजनामा जापानको अटोमोबाइल कम्पनी टोयोटा मोटर कर्प, इलेक्ट्रोनिक कम्पनी प्यानासोनिक कर्प र भिडियो गेम कम्पनी बेनडाइ नामकोले लगानी गरेका छन् । तीन वर्ष पहिले पनि यो कारको एक परीक्षण भएको थियो र त्यो असफल भयो । यो प्रोजेक्टमा अहिलेसम्म ३.९ बिलियन डलर लगानी जुटेको छ ।