गौर, १८ भदौं । रौतहटमा गोली हानेर हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश–२ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरेका छन् ।

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियामा प्रहरी चौकी शिलान्यास गर्न मुख्यमन्त्री राउत र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव उक्त स्थानमा पुगेका थिए । तर कार्यक्रम गर्न नपाउदै ठूलो संख्यामा उपस्थित स्थानीयले उनीहरुलाई कालो झण्डा देखाउनुको साथै नाराबाजी समेत गरेका थिए ।

वडाध्यक्ष शेख नरुल्लाहको प्रत्यक्ष संलग्नतामा पुजारीको हत्या गरिएको र निजहरू आफ्नो पार्टीको नेता भएकाले बचाउनका लागि उक्त स्थानमा आएर घटनाको अनुसन्धान मोड्न षड्यन्त्र गरेको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गर्दै मुख्यमन्त्रीलाई सचेत गराएका छन् ।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो निजी जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।