विराटनगर, २१ भदौं । विराटनगर महानगरपालिका–११ स्थित एक श्रेष्ठ परिवारमा एक महिनाभित्रै तीन जनाको ज्यान गएको छ । मृत्यु भएका तीनमध्ये एक जनाको कालगतिले नै र दुई दिदी–बहिनीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको हो ।
विराटनगर महानगरपालिका–११ मा श्रेष्ठ थरका ७० वर्षीय वृद्धको २३ भदौमा कालगतिले मृत्यु भएको थियो । ९ भदौ र २० भदौमा वृद्धका ४० र ४३ वर्षीय छोरीको मृत्यु भयो । वृद्धको मृत्यु प्रश्चात कोरोना नेगेटिभ देखिएको थियो । उनका दुई छोरीको मृत्यु भने कोरोना संक्रमणका कारण भएको हो ।
‘बुबामा पहिला पनि रोग थियो, तर छोरीहरुमा गम्भीर रोग थिएन’ विराटनगर– ११ वडा का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले घटनाबारे भने ‘एक महिना नबित्दै एकै घरका तीन जनाको मृत्यु भयो ।’
उनका अनुसार मृतक परिवारका अन्य सात जना आफन्तलाई पनि कोरोना संक्रमण देखिएको छ । वृद्धको मृत्यु भएको २० दिनपछि ९ भदौमा ४० वर्षीया कान्छी छोरीको विराट मेडिकल कलेजमा मृत्यु भयो । कान्छी छोरीको मृत्यु भएको १० दिनपछि शुक्रबार राति ४३ वर्षीया जेठी छोरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी उनी बुबाको काममा विराटनगर–११ स्थित माइतीमा बसेकी थिइन् । उनको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो ।
पेट, छाती र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलाको ४३ वर्षीया दिदीलाई विराटनगरको न्युरो अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो । उनलाई १७ भदौमा संक्रमण पुष्टि भएको थियो ।
१८ भदौदेखि उपचार भइरहेको उनको शुक्रबार राति महिलाको मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु भएका दिदीबहिनीलाई आफन्तले विराटनगरका युवाहरुको सहयोगमा सिंघिया घाटमा अन्त्येष्टी गरेका थिए ।


