दमौली । कीर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा वडा अध्यक्ष मल्ल २२ वर्षपछि पक्राउ परेका छन् । तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश मल्ल (टाइसन) लाई २२ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।
मल्ललाई इलाका प्रहरी कार्यालय डुम्रेबाट गएको प्रहरी टोलीले वडा कार्यालयबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सेनाले जानकारी दिए ।
मल्लले २०५४ सालमा साविक गजरकोट गाविस वडा नम्बर ४ (हाल घिरिङ गाउँपालिका) का अम्बरबहादुर थापाको छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोप लागेको थियो ।
बेलायती सेनाका लाहुरे होमबहादुरलाई दुई लाख रुपैयाँ दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन मल्लले सेटिङ मिलाएको आरोप लागेको थियो । नागरिकता प्राप्त गरेपछि राजु हङकङ गएका थिए । उनको केही वर्षअघि हङकङमै मृत्यु भएको थियो । होमबहादुर अहिले ८५ वर्षका छन् ।
नागरिकताको किर्ते गरेको सोही मुद्धामा जिल्ला अदालतले मल्ललाई २०५५ बैशाख २ गते दोषी ठहर गरेको थियो । अदालतले मल्ललाई एक वर्ष कैद फैसला गरेको थियो । अदालतको फैसला अनुसारको कैद भुक्तान नगरी मल्ल तत्कालिन अवस्थामा फरार थिए । धेरै वर्ष विदेश बसेर मल्ल नेपाल फर्किई राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए ।
उनको सो मुद्धाको बारेमा धेरैलाई जानकारी नभएपछि त्यही मौकाको फाईदा उठाई मल्लले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदबारी दिएर बिजयी समेत भएका थिए ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा २२ वर्ष पुरानो मुद्दाका अभियुक्त वडा अध्यक्ष मल्ललाई पक्राउ गरिएको डिएसपी तिमिल्सेनाले बताए । उनलाई सोमबार नै अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय तनहँुमा पठाइएको छ ।
मल्ल गत बैशाख ११ गते भानु नपा–१ का २१ वर्षीय पविन गुरुङको हत्याको घटनामा पक्राउ परी अदालतको आदेशमा जेठ ८ गते ५० हजार धरौटीमा रिहा भएका थिए । सो मुद्धाको अहिलेसम्म फैसला भएको छैन ।नागरीक खवरबाट



















