काठमाडौं । दोलखाको ऐतिहासिक त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको छ । भिमेश्वर नगरपालिका–२ स्थित सो मन्दिरमा गए राति चोरी भएको हो ।

भुकम्प पछि निर्माण गरिएको अस्थायी टहरामा राखीएको चन्दा बाकसमा भएको नगद चोरी भएको वडा अध्यक्ष विराजमान श्रेष्ठले जानाकारी दिनुभयो । सो बाकसमा करिब १५ हजार रुपैँया भएको अनुमान गरिएको छ ।

सेफमा राखिएको नगद र गरगहना पनि निकाल्ने प्रयास गरेको भए पनि सेफ फुटाउन नसकेको कारण ती सामान जोगिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सेफ मन्दिर बाहिर निकाली तोडफोड गरिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।  बाहिर निकाली छोडिएको सेफ नजिकै बन्चरो समेत फेला परेको छ । उक्त  सेफमा नगद र भगवतीलाई पहि¥याउने गहना तथा लालपूर्जा राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरका सबै तालाहरु फोरिएका भए पनि अन्य सामान भने चोरी नभएको उहाँले बताउनुभयो । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

त्रिपुरासुन्दरी मन्दिरमा पुजारी मात्रै जान पाईन्छ । निश्चित समय बाहेक सो मन्दिर भक्तजनका लागी खुल्ला हुँदैन ।