काठमाडौं । पछिल्लो समय कुलमान घिसिङलाई विवादमा ल्याउने काम भइरहेको छ । यो बिचमा सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियार लगाएर अनुसन्धान गर्नुपर्ने जनाउँनु भएको छ ।
आज बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा उहाँले सार्वजनिक लेखा समितिले पनि घिसिङमाथि छानबिन गर्नुपर्ने बताउनु भएको छ । प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सोध्दा नानाथरी आरोप लगाएको भन्दै घिसिङमाथि छानबिन गर्न बस्नेतले माग गर्नुभएको हो ।
आज संसदमा उहाँले भन्नुभयो, ‘भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ । यी कुरा उठाउँदा मोदीमाथि सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको सुनियो ।’ उहाँले कुलमान घिसिङले पनि उक्त गाली गलौचलाई बढावा दिएको आरोप लगाउँनुभयो ।
उहाँले भन्नुभयो, ‘कुलमानजीले पनि मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो । कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ । मोदीजीले उठाएका विषय गम्भीर छन् ।’ बस्नेतको यो बयानसँगै अहिले सामाजिक सञ्जालमा बस्नेत विरुद्ध नकारात्मक कुराहरु आउँन थालेका छन् ।


