लेखनाथ — सन् ८० को दशकमा राजा वीरेन्द्रलाई थाई नरेशले टिलापिया माछा उपहार दिएका थिए । संसारकै लामो नाइल नदीमा पौडिने माछा अफ्रिकाबाट थाइल्यान्ड कसरी लगिए आफ्नै इतिहास होला । नेपालले भने तिनलाई अनुसन्धान प्रयोजनका लागि जनकपुर मत्स्य विकास केन्द्रमा राख्यो । तिनै मांसाहारी माछा वर्षौंपछि फेवाताल कसरी पुगे कसैलाई पत्तो छैन । ‘नाइल नदीमा पाइने यो माछा छुट्टै पोखरीमा पाल्ने हिसाबले अनुसन्धान भइरहेको थियो,’ मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख अग्नि नेपाल भन्छन्, ‘तालसम्म कसरी आयो भन्नेमा अनभिज्ञ छौं ।’
अहिले त बेगनास हुँदै रूपातालसम्म फैलिसके । त्यस्तै मिचाहा प्रजातिका सिसा र सिंगी माछा पनि बेगनास तालमा भेटिएका छन् । बाम माछाको ठाउँमा आयातीत मांसाहारीको राज चलिसकेको छ । अन्य माछाका अन्डा र भुरा खाइदिने भएकाले टिलापिया मिचाहा प्रजातिमा पर्छ । टिलापिया फैलिँदा रैथाने जातका माछा संकटमा परेका छन् । तालमा उत्पादन हुने माछामध्ये टिलापियाको योगदान धेरै छ ।
मत्स्य अनुसन्धान केन्द्र पोखराका अनुसार फेवामा ६६ प्रतिशत, बेगनासमा ५० प्रतिशत र रूपामा ४४ प्रतिशत छन् । टिलापिया र मागुरजस्ता मिचाहा माछा बढ्दै जाँदा बाम मात्रै होइन, सहर, रहु, नैनी, फगेटा, भ्याकुर, कत्ले माछा पनि घटेका छन् । हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारी स्थानीय माछा घटे पनि टिलापियाले माछाको व्यापार भने बढाएको बताउँछन् । ‘लोकल माछा पहिले पनि कम थिए, कारोबार पनि कमै हुन्थ्यो,’ उनले भने, ‘टिलापिया, मागुर आएपछि व्यापार बढेको छ ।’
बेगनास तालमा ५(६ महिनायता अर्को एक नयाँ प्रजातिको माछा भेटिएको छ । ‘ग्लास पार्कलेट’ माछालार्ई स्थानीयले सिसा माछा भन्छन् । यसलाई चन्दानामा पनि भनिन्छ । सिसाजस्तै टल्किने र पारदर्शी हुने यो माछा हेर्दा भित्तेजस्तै देखिन्छ । अधिकतम ११ सेन्टिमिटर लामो र ५ ग्रामसम्म तौल हुन्छ । बेगनास मत्स्य समिति अध्यक्ष राजेन्द्र जलारी तालबाट दैनिक ५(७ किलो सिसा माछा निस्कने बताउँछन् । ‘दुई महिनाअघि दिनमा ६०(७० किलोसम्म निस्कन्थ्यो,’ उनले भने, ‘त्यतिखेर बिक्री हुनै गाह्रो भयो ।’
काँडा धेरै हुने भएकाले फ्राई गरेर खाने चलन बढेको छ । बेगनासमा सिंगी माछा भित्रिएको ५ वर्ष पुग्यो । मागुरजस्तै देखिने यो माछा पनि मांसाहारी हो । यो पनि अन्य माछाको अन्डा र भुरा खाएर बाँच्छ ।
जलारीका अनुसार दैनिक ८ किलोसम्म तालबाट सिंगी निकालिन्छ । नरम र स्वादिलो हुने भएकाले उपभोक्ताले रुचाउँछन् ।
सिसा र सिंगी माछा दुवै स्वदेशी जातका भए पनि रैथाने होइनन् । ‘सिसा माछा मांसाहारी हो कि भन्ने छ,’उनले भने, ‘हामी अध्ययनकै क्रममा छौं ।’
उनको अनुमानमा तराईबाट माछाका भुरा ल्याउने क्रममा ती माछा पनि मिसिएर आएका हुन सक्छन् ।
सहर माछालाई फुल पार्न सुरक्षित ठाउँ चाहिन्छ । ग्राभेल भएको जलाशयको मुहान सहरले रोज्छ । प्राकृतिक जलाशय घटदो क्रममा छन् । मुहानमा विषादी हाल्ने, बल्छी खेल्ने, करेन्ट लगाउनेजस्ता मानव गतिविधिले माछाको प्रजननमा अवरोध पुगेको छ ।
स्थानीय जात जोगाउन उपल्लो तटीय क्षेत्रका बासिन्दाले पनि लाभ पाउने गरी रूपातालमा जस्तै सहकारी मोडल उपयुक्त हुने जानकारहरू सुझाउँछन् ।


