नबराज पथिक
काठमाडौं,१५कार्तिक । नेपालीहरूको महान पर्व बडादशैं सकिएको छ । कोजाग्रत पूर्णिमासँगै यस वर्षकाे दशैं औपचारिक रुपमा बिदा भएको हाे।

अब पालाे तिहारलाई स्वागत गर्ने । काेजाग्रत पूर्णिमापछि नेपालीहरूकाे दाेस्राे महान चाड दीपावली तथा तिहार सुरू भएकाे मानिन्छ ।

कोरोना महामारीले देश आक्रान्त भएको बेला भित्रिएकाे दशैंमा ठूलो भिडभाड हुन्छ भन्ने त्रास सबैमा थियो । सार्वजनिक यातायात तथा गाउँघरमा भीड हुने र संक्रमण व्यापक फैलने आशंका गरिएको थियो ।

दशैंमा जुन भिडभाडको आशंका गरिएको थियो त्यस्तो भिडभाड भने न सार्वजनिक यातायातमा देखियो न गाउँ घरमा नै । साँच्चै भन्ने हो भने दशैंको कारण यस वर्ष केही बजार क्षेत्रमा किनमेल गर्नेको भिडभाड बाहेक अन्यत्र भीड देखिएन ।

किनमेलकाे भीड र सहरबाट गाउँ पसेकाले सारेकाे काेराेना काेशेलीकाे परिणाम केही दिनमा देखिन्छ । विज्ञहरूले दशैंका बेला काेराेना गाउँ गाउँ पुगेकाे र तीब्र फैलिएकाे आँकलन गरेका छन् ।

काठमाडाैं उपत्यकाबाट बाहिरी जिल्ला जाने यात्रुहरूले गत वर्ष अग्रिम टिकट बुकिङ गर्ने गर्थे । याे वर्ष त्याे पनि भएन । गाउँ जान चाहाने सहज रूपमै गाउँ पुगे । गत वर्ष भन्दा थाेरै मानिसले मात्र याे वर्ष काठमाडाैं छाडे ।

काठमाडौंबाट लामो र तथा छोटो दुरीमा चल्ने सार्वजनिक यातायात पनि न्यून मात्र चले । चलेका यातायात साधनमा समेत सिट क्षमता अनुसारका यात्रु देखिएनन् । यात्रुहरु सार्वजनिक यातायात चढ्न डराए । चढेका पनि सीमित मानिस मात्र चढे । भिडभाड गरेर बस चढ्ने आँट सर्वसाधारणले गरेको देखिएन । धेरैले निजी गाडीमार्फत गाउँकाे यात्रा तय गरे ।

विगतमा छतमा समेत पाइला टेक्ने ठाउँ नहुने सार्वजनिक बस यस वर्षको दशैंमा कम गुडे । गुडेका पनि खाली खाली जस्तै गुडे । दशैंको घटस्थापना अघिदेखि नवमीको दिनसम्म जाम हुने सडक यस वर्षको दशैंमा खाली देखिए । सडक सुनसान जस्तै भए ।

आफ्ना साधन हुनेहरु आफ्नै साधन प्रयोग गरी गाउँमा पुगे । नहुनेले जहाँ छन्, त्यहीँ बसेरै दशैँ मनाए । यस वर्षको दशैंमा नेपाली नागरिक अनुशासनमा बसे ।

दशैंमा गाउँमा पुग्नेले पनि सतर्कता अपनाएको पाइएको छ । गाउँ जाने मात्र होइन गाउँमा बस्ने समेत सचेत भएका पाइएको छ । काठमाडौं लगायत बाहिरबाट आएका मनिस भएका घरमा नजाने तथा उनीहरुलाई समेत आफ्नो घरमा आउनबाट गाउँमा रोकेको पाइएको छ ।

घरघर गएर टीका लगाउने विगतको प्रचलनलाई समेत यस वर्ष गाउँका धेरै ठाउँमा रोकेको पाइएको छ । अधिकांश गाउँमा यस वर्ष कोही कसैको घरमा टीका लगाउन गएनन् । सबैले आआफ्नो घरमा मात्र दशैंको टीका लगाएका पाइयो ।

आफन्त र इस्टमित्रकोमा टीका लगाउन जाने क्रम पनि न्यून देखियो । संक्रमणको डरले सर्वसाधारणले आफन्तकोमा जाने आँट समेत गर्न सकेनन् ।

यस वर्षको दशैंमा सबैभन्दा ठूलो भिडभाड राजनीतिक दलका नेता कार्यकर्ताले गर्छन् भन्नेशंका गरिएको थियो । सत्तारुण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नजिकिएको बेलामा दशैंको शुभकामना आदान प्रदान गर्ने भन्दै नेताहरु गाउँगाउँमा जान्छन् । भीड जम्मा पार्छन् । जसले महामारी फैलाउने छ भन्ने शंका पनि धेरैकाे थियाे ।

गाउँमा यस्तो भएन । कुनै पनि राजनीतिक नेता न गाउँ पुगे न कुनै भेटघाट, शुभकामना आदानप्रदान र चियापानका कार्यक्रम नै भए । गएका पनि परिवारभित्रै सीमित रहे । केही नेता तथा सांसद् संक्रमणकाे सिकार भए । दशैंमा गाउँ सुनसान भयो । मानिसको कतै भिडभाड र जमघट देखिएन ।

तर जनता समाजवादी पार्टीले भने काेराेनालाई सामान्य ठानेकाे पाइयाे । काेराेना महामारीबीच । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी पार्टी प्रवेश, सभा र शुभकामना आदानप्रदानका कार्यक्रम जसपाले गर्‍याे । तीनै कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईलाई काेराेना पाेजेटिभ देखियाे । यसबाट आँकलन गर्न सकिन्छ की ती कार्यक्रममा सहभागी कसै न कसैमा त काेराेना सर्‍याे वा उनीहरूबाट नै बाबुरामलाई काेराेना सर्‍याे ।

अहिले गाउँबाट काठमाडौं फर्किनेले कोरोना लिएर आए कि भन्ने जुन शंका गरिएको छ, त्यो शंका मात्रै हो । खासमा कोरोना काठमाडौंको समुदायमा नै छ । त्यहीबाट संक्रमण फैलिइरहेको छ । गाउँ गएका पनि यतैबाट बाेकेर गएका हुन् ।

बरु काठमाडौंबाट गाउँ फर्किएकाले घरमा संक्रमण छाडेर आएकी भन्ने आशंका छ । गाउँबाट संक्रमण लिएर काठमाडौं आउने सम्भावना अति न्यून छ ।

अहिले कोरोनाको केन्द्र काठमाडौं नै बनेको छ । कोरोना काठमाडौंबासीलाई छ । त्यसैले काठमाडौं उपत्यकालाई नै परीक्षणको मूख्य केन्द्र बनाउनुपर्छ । परीक्षणको दायरा बढाउनुपर्छ । उपचारको उचित प्रबन्ध मिलाउनुपर्छ ।

काठमाडौं लगायत ठूला सहरलाई मूख्य केन्द्र बनाएर परीक्षणको दायरा बढाउनुपर्छ । यसो गर्‍याे भने कारोनालाई नियन्त्रणमा लिन सकिन्छ ।

तिहारका बेला देउसी भैलाेका कारण भीडभाड हुन सक्छ यसमा पनि सरकारले समयमै उचित पहल गर्नुपर्छ । भीडभाडमा राेक लगाएका कारण पनि देउसी भैलाेका कार्यक्रम गर्ने आँट कसैमा नहुने पनि अनुमान गर्न सकिन्छ ।सनराइज खवर बाट