काठमाडौं,१६ कर्तिक । पारिपट्टी बीपी मार्ग, वारि पुष्पलाल मार्ग । बीचमा सुनकोसी र तामाकोसीको संगमस्थल । त्यही संगमस्थलको टापुमा सानो तर रमणीय मन्दिर ।
यो हो रामेछापको ऐतिहासिक र पौराणीक त्रिवेणी नर्वदेश्वर महादेव मन्दिर । हेर्दा सामान्य लाग्छ । तर यो मन्दिरको इतिहास धेरै पुरानो छ ।
कति पुरानो ? कसैलाई थाहा छैन । यो मन्दिरको पुरानो लिखित इतिहास अहिलेसम्म फेला परेको छैन । तर पृथ्वी नारायण शाहले नेपाल एकिकरणको बेला यो मन्दिरबाट सहयोग लिएको अभिलेख भने छ ।
नेपाल एकिकरणको क्रममा सिन्धुली गढीको लडाईँमा पृथ्वीनारायण शाहलाई सो मन्दिरका संस्थापक रामचन्द्र प्रसाईँले सहयोग गरेको अभिलेख रहेको स्थानीय वेदप्रसाद प्रसाईँ बताउनुहुन्छ ।
जंगबहादुर राणाका छोरा जगतजगं पनि त्रिवेणी मन्दिरको पारि सिन्धुलीमा आएर बसेका र सो मन्दिरमा दर्शन गर्न आएको कुरा डायमण्ड शम्शेरद्वारा लिखित उपन्यासमा उल्लेख छ ।
मन्दिरको नाममा रामेछापकै सबैभन्दा उब्जाउ हुने माडी फाँटमा ४१ रोपनी खेत रहेको छ । सो खेत कमाउने गुठियारले दिने धानबाट मन्दिरका पूजारी र टहलुवा राख्ने गरिएको छ । त्यस्तै खेतीबाट आउने परालले गाई पाली शिवको मन्दिरमा दुध चढाउँदै आइएको छ । ‘अरु पुर्वाधार निर्माणको काम हुन सकेका छैनन्’, उहाँले भन्नुभयो ।
त्रिवेणी मन्दिरको माथि शिद्धगुफा रहेको छ । सान्निल्य ऋषिले सिद्धी प्राप्त गरेको सो गुफाकै नामबाट सान्ने गाउँको नामाकरण समेत भएको छ । तर सो विकट गुफासम्म जाने ठाउँ नहुँदा सर्वसाधारण त्यहाँ पुग्न सक्दैनन् ।
उचित प्रचार नहुँदा यो ऐतिहासिक मन्दिर ओझेलमा परेको छ । हिमवत पूराणमा सो स्थानलाई देव प्रयाग भनेर उल्लेख गरिएको छ । तामाकोसी र सुनकोसीको संगमस्थलमा नुहाँउँदा पुण्य प्राप्ति हुने कुरा पुराणमा उल्लेख छ ।
शिवको ब्रत बस्ने भक्तजनहरु सोमबार मन्दिरमा पूजाआजाको लागि पुग्ने गर्दछन् । बालचतुर्दशीको दिन भने यो मन्दिरमा ठूलो मेला लाग्छ । सो मेलामा रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, सर्लाही, ओखलढुंगादेखिका मानिस आफ्ना मृत आफन्तको नाममा बत्ती बाल्न आउँछन् ।
त्यस्तै जनैपूर्णिमाको दिन रामेछाप र सिन्धुलीका मानिस भेलाभई जनै लगाउने र दही च्युरा समेत खाने गर्दछन् ।
निर्माणाधीन मध्यपहाडी मार्ग समेत यही मन्दिर नजिकैबाट जाँदै छ । बीपी मार्ग र मध्यपहाडी दुवैको नजिक रहेको यो मन्दिरको महत्व आगामी दिनमा अझ बढ्ने देखिएको छ । मन्दिरको प्रचार र पूर्वाधार विकासमा सरोकरवालाको थप ध्यान जान आवश्यक देखिन्छ ।सनराइज खवर बाट




















